बाढी, पहिरोसहित कोरोना संक्रमण उत्कर्षमा
काठमाडौं, असार १४ ।
यसवर्ष साउनको दोस्रो र तेस्रो साता बाढी पहिरोलगायत अन्य विपद्सँगै कोभिड-१९ को संक्रमण उत्कर्षमा पुग्ने आँकलन गरिएको छ।
गृहमन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो आँकलन गरेको हो ।
‘मनसुन, पूर्वतयारी र प्रतिकार्य कार्ययोजना २०७७’ जारी गर्दै प्राधिकरणले बाढी, पहिरो, डुबान लगायतको पूर्वतयारी र प्रतिकार्य तथा कोभिड-१९ सँगको सामना एकैपटक गर्नुपर्ने उल्लेख गरेको छ।
कार्ययोजनाले उद्धार, प्रतिकार्य र पुनर्स्थापनाका अरु काम कोभिड-१९ को सम्भावित संक्रमणबाट जोगिएर गर्नुपर्ने चुनौती पनि आउने देखाएको छ।
अहिले कोरोना भाइरसका संक्रमित दिनप्रतिदिन थपिँदै गइरहेको अवस्था छ। यो विस्तारै बढ्ने अनुमान जनस्वास्थ्य विज्ञहरुकोसमेत छ।
यसवर्ष वर्षायाममा ३० लाख विपद्का सम्भावित घटना हुने आंकलन गरिएको हो। सरोकारवाला निकायहरूको विषयगत विश्लेषण, ज्ञान, सीप र अनुभवका आधारमा आंकलन गरिएको प्राधिकरणले जनाएको छ।
सीमावर्ती क्षेत्रमा भारत सरकारले बनाएको तटबन्ध, बाँध, अग्ला सडक, रेलमार्ग, ब्यारेज र नहर प्रणाली लगायत संरचनाले पनि तराईका बस्ती र खेतबारी धेरै जोखिममा पर्ने गर्छन्।
प्रदेश २ र प्रदेश ५ मा बाढीजन्य जोखिम अत्यधिक हुने आंकलन गरिएको छ। मध्य पहाडी क्षेत्रमा पनि अचानक बाढी आउने र जनधनको ठूलो नोक्सानी हुने गरेको अनुभव छ।
नेपालमा बाढी र पहिरोले वर्षेनी जनधनको ठूलो क्षति हुने गरेको छ। यसवर्ष हुनसक्ने जोखिमको आंकलनसहित सबै निकायले गर्नुपर्ने पूर्वतयारीका काम थालिसकेको प्राधिकरणले जनाएको छ।
१४ असार २०७७, आइतवार ०४:५६ बजे प्रकाशित































