punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कविता : इज्जतको ठेगाना

Chaupati
safha napa

को हो त्यो ?
जसले भनिदियो
‘महिलाको इज्जत योनीमा हुन्छ’
र तिमी पत्याएर बस्यौ युग युग !

को हो त्यो ?
जसले भनिदियो-
‘रुप भएकी छोरी
र सिप भएको छोरो भोकै मर्दैनन्’
र तिमी रुपौली बन्न रोइरह्यौ !

तिमीले कहिलै सोध्यौ ?
‘महिलाको इज्जत योनीमा हुन्छ भने
पुरुषहरूको इज्जत कहाँ हुन्छ ?
कि पुरुषहरू इज्जतहीन प्राणी हुन ?’

के महिलाहरू सिपहीन हुन्छन् ?
के सिपै नभई चलेको हो भान्सा ?
के सिपै नभई हुर्केका हुन नानीहरू ?
के पुरुषको मात्रै सिपले चलेको हो संसार ?
के तिमीलाई पुरुष सुन्दर लाग्दैन ?
के पुरुषसँग तिम्रो
कुरुप देखी देखी प्रेम बसेको हो ?
के कुरुप चिजसँग प्रेम बस्छ ?

मानव शरीरको भूगोलमा
कहाँ हो इज्जतको ठेगाना ?
के लुटेर लुटिन्छ इज्जत ?
अनि को हो अनैतिक
लुटिने कि लुटेर ?
तिमीले सोध्यौ यी प्रश्न पुरुषसँग ?

उसले तिमीलाई धरती भन्यो
तिमी मख्ख परेर बसिरह्यौ
उसले तिमीलाई भन्यो
जन्मजात सुन्दर प्रजाति
तिमी भ्रम बोकेर वाँचिरह्यौ
उसले तिमीलाई भोग्यो भन्यो
तिमी चुपचाप सुनेर बसिरह्यौ !

इज्जत जोगाउने पिरलोमा
आतङ्क पिएर बसेकी तिमी
हटाइदेऊ यी भ्रमहरू
उसले जहाँ छ भन्यो तिम्रो इज्जत
त्यो इज्जतको सही ठेगाना होइन
र जहाँ हो सही ठेगाना
तिमी जान्न चाहन्छ्यौ भने
म बताइदिन तयार छु ।

बलराम तिमील्सिना ,भक्तपुर


११ असार २०७७, बिहीवार ११:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु