दुई सय विद्यालय क्वारेन्टिनमा प्रयोग
बैतडी, ४ असार । यहाँका दुई सय बढी विद्यालय क्वारेन्टिनका लागि प्रयोग गरिएको छ । भारत तथा तेस्रो मुलकबाट फर्किएकालाई राख्न ती विद्यालय क्वारेन्टिन रुपमा प्रयोग भएको हो । जिल्लाका ९५ प्रतिशत विद्यालय क्वारेन्टिमा परिणत भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । हाल २५० स्थानमा गरी छ हजार ९८९ बेडका क्वारेन्टिन रहेका छन् । उनले भने, “खुला ठाउँ र राख्नको लागि सहज हुने भएको विद्यालयमा बढीजसो क्वारेन्टिन निर्माण गरिएका हुन् ।” यस्तै केही स्वास्थ्यचौकी, सामुदायिक भवनमा पनि क्वारेन्टाइन बनाइएका छन् ।
यस्तै चार स्थानमा ३६ बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएका कोभिड १९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिए । भारतलगायत अन्यत्रबाट विभिन्न समयमा आउने र सबैलाई एउटै भवनमा राख्दा जोखिम बढ्ने भएकाले विद्यालय नै उपयुक्त भएकाले राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बैतडीमा हाल तीन हजार जना क्वारेन्टिनमा बसिरहेका छन् ।
त्यस्तै कोरोना सङ्क्रमित थपिन सक्ने भन्दै पूर्वतयारीस्वरुप बैतडीमा कम्तीमा २०० बेडको आइसोलेसन कक्ष बनाइँदैछ । कोरोना सङ्क्रमित थपिन सक्ने भन्दै जिल्लामा आइसोलेसन बेडको सङ्ख्या बढाउँदै लगिएको हो । जिल्लामा २७ सङ्क्रमित र ४०० बढीको आरडिटी पोजेटिभ आएर रिपोर्ट आउँन बाँकी छ । पिसिआर रिपोर्ट आउँन बाँकीमा कोरोना पुष्टि भइहाले पनि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा राख्ने तयारीका साथ आइसोलेसनमा बेडको सङ्ख्या बढाउन लागिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
४ असार २०७७, बिहीवार ०३:४६ बजे प्रकाशित































