कैलालीका सिमामा बलियो बन्दै सशस्त्र प्रहरी
धनगढी,जेठ ३१ । कैलालीका सिमामा सशस्त्र प्रहरी बलियो बनिरहेको छ । सिमामा बिओपी स्थापनामा जोड दिएर सशस्त्र प्रहरीले आफ्नो उपस्थिती बढाएको हो । कैलालीमा एक हप्तामा मात्रै सशस्त्र प्रहरीले ५ वटा बोर्डर आउट पोष्ट (विओपी) स्थापना गरेको छ ।
भारतसँग १०१ किलोमिटर लामो सीमाना रहेको कैलालीमा भारततिर दुई(तीन किलोमिटरमा एसएसबीका पोस्ट छन् । नेपालतिर जिल्लाभरमा तीन वटा पोस्ट मात्रै रहेको अवस्थामा पुसमा १ र जेठको २२ गते यता मात्रै थप ५ वटा विओपी स्थापना गरि ९ वटा पु¥याइएको हो ।
सशस्त्र प्रहरी नम्बर ३४ गण कैलालीका अनुसार सीमा सुरक्षालाई मध्यनजर गर्दै नेपाल सरकारले, २०७६ मंसिर ३० गते नै देशभरिमा ११४ वटा विओपी थप्ने निर्णय गरेको थियो ।
त्यो निर्णय अनुसार कैलालीमा ६ वटा विओपी स्विकृत भएका थिए । कैलाली जिल्लामा स्वीकृत भएका मध्ये कैलालीको कैलारी गाउँपालीकाको भुइँयाफाँटामा पुष ११ गते नै विओपी स्थापना गरिएको थियो । तर जेठको २२ गते धनगढी उप महानगरपालिका वडा नं. ९ को बंगराकटान, वडा नम्बर १० को जुगेडा, कैलारी गाउँपालिकाको वडा नम्बर ३ मा रहेको खोनपुर भन्ने स्थानमा र भजनी नगरपालिकाको वढा नम्बर ७ को हिम्मतपुरमा विओपी स्थापना भएका छन् । सशस्त्र प्रहरी बल नेपाल, नम्बर गढा ३४ हेडक्वार्टर धनगढीले दिएको जानकारी अनुसार शुक्रबार मात्रै टीकापुर नगरपालिकाको श्रीलंका टापुमा छैटौं विओपी स्थापना भएको छ । योसँगै कैलालीको १०१ किलोमिटरको भारतसँगको सीमानामा ९ वटा विओपी पुगेका छन् ।
यसअघि टीकापुर, भजनी र फुलबारीमा गरी तीन वटा मात्रै विओपी थिए । अब जिल्लाभरी ९ वटा विओपी र कैलालीको त्रिनगर नाकामा एउटा गुल्म सतिह करिब ७ सय जनाको सशस्त्र प्रहरीको जनशक्ति कैलालीको सीमानामा मात्रै खटिने भएको छ । सशस्त्र प्रहरी बल बैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीको उपस्थितीमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण हेडक्पार्टर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमलप्रसाद तिमिल्सीनाले जानकारी दिए । तिमिल्सीनाले देशको सीमानामा पहिलो पङ्तीमा रहेर सशस्त्र प्रहरीले कार्यगरिरहेको बताए । उनले, सीमानामा विओपी स्थापना भए पनि सीमाको सुरक्षा हुने र सीमा क्षेत्रका नागरिकमा सुरक्षाको समेत प्रत्याभुति हुने विश्वास व्यक्त गरे ।
३१ जेठ २०७७, शनिवार १६:४४ बजे प्रकाशित













