रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन
काठमाडौं,बैशाख १९। रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । प्रजातन्त्र सेनानीसमेत रहेकी गायिका रानुदेवीको आज ८३ वर्षको उमेरमा निधन भएको हो । काठमाडौंको केएमसी अस्पतालमा आज बिहान २ बजे उनको निधन भएको हो । रानुदेवीले जागो नेपाली बोलको गीत गाएर तत्कालीन राणा शासनविरुद्धको क्रान्तिमा सहयोगसमेत गरेकी थिइन् । नेपाली कांग्रेसबाट राजनीति समेत गरेकी उनी शिक्षिका पनि थिइन् ।
वीरगन्जमा सन् १९३६ नोभेम्बर २७ मा जन्मिएकी रेडियो नेपालकी प्रथम गायिका रानुदेवीले इतिहास विषयमा एमएसम्मको अध्ययन गरेकी थिइन् । पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय (पौडेल) की पुत्री रानुदेवीको बाल्यकाल बनारसमा बित्यो भने विक्रम संवत २००६ सालमा विराटनगरका तीर्थप्रसाद अधिकारीसँग विवाह भएको थियो ।
सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम विसं २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन् । २००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो । विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा तारिणीप्रसादले नै प्रोत्साहन गरेका हुन् । रानुदेवीले रेडियो नेपालको स्थापनाकालदेखि गीत गाएकी हुन् ।
१९ वैशाख २०७७, शुक्रवार ०७:०३ बजे प्रकाशित













