रौतहटमा फेरि दलित महिलाको हत्या, बलात्कारपछि हत्या गरेको आशंका
रौतहटमा फेरि एक दलित महिलाको हत्या भएको छ । जिल्लाको गढीमाई नगरपालिका–३ लक्ष्मीपुर मुसरीटोलकी ३५ वर्षीया मन्त्रादेवी बैठाको हत्या भएको हो ।
दुई साता नपुग्दै रौतहटमा हत्याको यो दोस्रो घटना हो। प्रहरीका अनुसार आइतबार साँझ महिलाको हत्या भएको हो।
घाँस काट्न गएकी ती महिलालाई घाँटीमा सारीको फेरोले कसेर हत्या गरिएको अवस्थामा फेला पारिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए।
घटनास्थलमा उखुबारी मडारिएको तथा पातपतिंगरहरू सोहोरिएको देखिएको छ। शरीरको छाला पिल्सिएको देखिँदा उनलाई घाँटी कसेपछि घिस्याएको देखिन्छ। उनको शरीरभरि चोट लागेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ । रौतहट कलैया उपमनपा-१३ बलिरामपुरकी ४५ वर्षीया सियापति धोबीलाई पनि यही शैलीमा गत साउनमा हत्या गरिएको थियो। रौतहटमा हत्याका शृंखलाबद्ध घटना भइरहेका छन्।
रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार उनको शव पोस्टमार्टम लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।
महिलालाई बलात्कारपछि हत्या गरेको हुनसक्ने आशंका पनि गरिएको छ। तर, प्रहरीले यकिन गर्न सकेको छैन।
१५ भदौ २०७७, सोमवार १७:२९ बजे प्रकाशित































