मौसम खराबीका कारण रसुवागढी हाइड्रोपावरमा उद्धारका उपकरण पुर्याउनै समस्या
काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका ९३ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धार प्रयास जारी रहे पनि मौसम खराबी कारण आवश्यक उपकरण आयोजनास्थलसम्म पुर्याउन नसक्दा उद्धार कार्य प्रभावित आयोजनाले जनाएको छ ।
कम्पनीका सचिव नरनाथ न्यौपानेका अनुसार सम्पर्कविहीन हुनेमा नियमित कर्मचारी ५१ जना, सञ्चालक एक जना, दैनिक ज्यालादारी कामदार दुई जना र तीनवटा ठेकेदार कम्पनीका ३९ जना छन् ।
विशेषगरी विद्युतगृह (पावरहाउस) भित्र रहेका कर्मचारीहरूको अवस्थाबारे अझै यकिन हुन नसकेको उनको भनाइ छ ।
उनीहरूको उद्धारका लागि सुरुङभित्र थुप्रिएको भग्नावशेष (मलवा) हटाउन आवश्यक मिनी एक्स्काभेटर, ३० केभीए डिजेल जेनेरेटर, सबमर्सिबल पम्प, होज पाइपलगायतका उपकरण केही दिनअघि नै नुवाकोटको बट्टारस्थित मैथली आर्मी क्याम्पमा पुर्याइएको थियो ।
तर, नेपाली सेनाको उद्धार टोलीले आयोजनास्थलको रेकी गर्दा पावरहाउस अगाडिको भूभाग नदीले थप कटान गरेको र ठूलो हेलिकप्टर (एमआई–१७) अवतरण गर्न सक्ने अवस्था नरहेको जानकारी गराएको न्यौपानेको भनाइ छ ।
ठूलो हेलिकप्टरबाट उपकरण लैजान नसकिने भएपछि कम्पनीले सानो क्षमताको जेनेरेटर खरिद गरेर कम तौलका उपकरण आयोजनास्थल पुर्याउने प्रयास गरेको थियो । ६.५ केभीए डिजेल जेनेरेटर, सबमर्सिबल पम्प, होज पाइप तथा विद्युतीय सामग्री मंगलबारदेखि पठाउने तयारी भए पनि प्रतिकूल मौसमका कारण ढिलाइ भएको थियो ।
कम्पनीका अनुसार ती सामग्री शुक्रबार बिहान ११:२० बजे धुन्चे पठाइएको छ । त्यहाँबाट पावरहाउससम्म सामग्री लैजान सकिने अवस्था नबनेको कम्पनीले जनाएको छ ।
कम्पनीले पावरहाउसबाहिर सम्पर्कविहीन भएकाहरूको खोजीका लागि भने निजी क्षेत्रबाट समेत जनशक्ति परिचालन गरेको छ ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष तथा अनुभवी रक क्लाइम्बर परिचालन गर्न कम्पनीले हिमालय समिट क्लब प्रालिसँग सम्झौता गरी टिमुरेमा खोजी गरिरहेको बताए । आज अर्को हेलिकप्टरबाट घट्टे खोला गई उक्त क्षेत्रमा खोजी कार्य गर्ने तयारी थियो । तर मौसमका कारण हेलिकप्टर उड्न नसक्दा टोली घट्टेखोलासम्म पुग्न सकेको नसकेको उनको भनाई छ ।
उद्धार कार्यका लागि कम्पनीले बट्टार, धुन्चे र पावरहाउस क्षेत्रमा छुट्टाछुट्टै जनशक्ति तयारी अवस्थामा राखेको छ । बट्टारमा सिनियर इन्जिनियरसहित दुई जना, धुन्चेमा दुई जना इन्जिनियर र पावरहाउस उद्धार टोलीलाई विद्युतीय जडानमा सहयोग गर्न एक जना इलेक्ट्रिकल ओभरसियर तयारी अवस्थामा छन् ।
धुन्चेमा नेपाली सेनाको विशेष उद्धार टोलीसमेत आवश्यक टुल्स तथा उपकरणसहित पावरहाउसतर्फ परिचालनका लागि तयारी अवस्थामा रहेको कम्पनीले जनाएको छ । तर मौसम अनुकूल नहुँदा अहिलेसम्म टोलीलाई पावरहाउसतर्फ लैजान उडान हुन नसकेको बताए ।
यसबीच कम्पनीले सम्पर्कविहीन कर्मचारीका परिवार तथा आफन्तलाई घटनाको अवस्थाबारे नियमित जानकारी दिन ह्वाट्सएप समूहसमेत बनाएको छ । खोजी तथा उद्धारका क्रममा प्राप्त विवरण, प्रयास र उपलब्ध सूचनाबारे परिवारलाई जानकारी गराउने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।अन्लाईन खबर
१९ भदौ २०८३, शुक्रवार १६:५३ बजे प्रकाशित














