बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्न सरकार गम्भीर छ : मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकार बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्न गम्भीर रहेको बताउनु भएको छ ।
सुदुरपश्चिम प्रदेश बादी उत्थान बिकास समितिको सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकार गरिब, असहाय र भुइँमान्छेको सरकारका रूपमा स्थापित गर्ने गरी आगामी बजेट तथा कार्यक्रम निर्माणको तयारी भइरहेको उहाले बताउनु भएको छ। महिला, गरिब, असहाय, बालबालिका, नवयुवा, बादी तथा सुकुम्बासी समुदायमैत्री सरकार निर्माणसँगै सुशासनयुक्त शासन व्यवस्थालाई प्राथमिकतामा राखेर बजेट निर्माणको तयारी समेत भइरहेको उहाको भनाइ रहेको छ।
उहाँले राज्यमा अझै पनि असमानता र विभेद कायम रहेको भन्दै त्यसको अन्त्यका लागि राज्यले गर्नुपर्ने धेरै काम बाँकी रहेको उल्लेख गर्नुभयो। दसवर्षे जनयुद्धले दलित तथा बादी समुदायमाथि हुने धेरै प्रकारका विभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो।
मुख्यमन्त्री भट्टले आगामी बजेटमा ‘दलित अधिकार दशक’ का रूपमा विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको बताउनुभयो। दलित समुदायमाथिको छुवाछुत पूर्ण रूपमा अन्त्य गर्दै उनीहरूको आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउने गरी कार्यक्रम तथा योजना अघि बढाइने उहाँले बताउनुभयो।
प्रदेशको औचित्य पुष्टि हुने गरी बजेट निर्माण गरिने उल्लेख गर्दै मुख्यमन्त्री भट्टले बादी समुदायका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। राज्यले अझै धेरै विभेदको अन्त्य गर्न बाँकी रहेको भन्दै उहाँले सबै समुदायको पहिचान, आत्मसम्मान र अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
दलित समुदायभित्रै रहेको विभेद र छुवाछुतको समेत अन्त्य गर्न आवश्यक रहेको उहाँको भनाइ थियो। समानता, सामाजिक न्याय र सम्मानमा आधारित समाज निर्माणका लागि प्रदेश सरकारले आगामी बजेटमार्फत विशेष पहल गर्ने मुख्यमन्त्री भट्टले बताउनुभयो।
२५ भदौ २०८३, बिहीवार १५:१९ बजे प्रकाशित














