उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता कायमै
काठमाडौं। नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत जारी मतगणनामा खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारी र खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले अग्रता कायमै राखेका छन् ।
आइतबार बिहानको पछिल्लो मतपरिणामअनुसार खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले ६२३ मत पाएका छन् । ई. मधु आचार्यले ३४३, गोविन्द भट्टराईले २९१, सुरेन्द्रराज पाण्डेले २८९, दीपक गिरीले २४२, धनराज गुरुङले २११ र प्रा.डा. चन्द्रमोहन यादवले १२६ मत पाएका छन् ।
समावेशी उपसभापतिमा विनोद कुमार चौधरी ३४७ मतसहित अगाडि छन् । जीवन परियारले २८७, फरमुल्लाह मन्सुरले १६४, सीता गुरुङले १५१ र रञ्जित कर्णले ९८ मत पाएका छन् ।
खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले ६५३ मतसहित अग्रता कायम गरेका छन् । अमरसिंह पुन मगरले ४३६, उदयशम्शेर राणाले ३६६, डा. सुनिलकुमार शर्माले २८८, गुरुराज घिमिरेले १६३, नैनसिंह महरले १२२, शंकर तिवारीले १८ र डा. सन्तोष उपाध्यायले १६ मत पाएका छन् ।
महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ५२३ मतसहित अगाडि छन् । महालक्ष्मी उपाध्याय (डिना) ले ४८४ र रीता खनालले १३९ मत पाएकी छन् ।
कांग्रेसमा यसअघि सभापतिमा गगनकुमार थापा निर्वाचित भइसकेका छन् भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् ।
जारी मतगणनाबाट खुला दुई र समावेशी एक गरी तीन उपसभापति निर्वाचित हुनेछन् । त्यस्तै, महामन्त्रीमा खुला दुई र महिला एक गरी तीन जना निर्वाचित हुनेछन् ।
२५ असोज २०८३, आइतवार ०६:४४ बजे प्रकाशित












