तीन दिनसम्म यी क्षेत्रमा हुनेछ भारी वर्षा
काठमाडौं, साउन ३१
२४ घन्टामा बागमती, गण्डकी, प्रदेश ४ र कर्णाली प्रदेशमा भारी वर्षा मापन भएको छ । २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै पानी परेमा भारी वर्षा मानिन्छ ।
पश्चिम भूभागमा केही स्थानमा तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कर्णाली प्रदेशमा भने आज भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
मनसुनी न्युन चापीय रेखा पश्चिम भूभाग नजिक रहेकाले पश्चिम क्षेत्रमा बढी वर्षाको सम्भावना देखिएको हो । पश्चिम क्षेत्रमा एकैछिन आकास खुले पनि एकैछिनमा बादल लाग्ने र वर्षा हुने छ ।
गएराति बर्दियाका गुलरिया, रानीजरूवा, रम्बापुर लगायतका धेरैजसो स्थानमा भारी वर्षा भएको छ र थप वर्षा हुने सम्भावना छ । त्यसैले बाढी पूर्वानुमान महाशाखाले बबई जलाधार क्षेत्र आसपासका डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन भनेको छ ।
यस्तै गोरखाको बारपाक, आरूघाट, विरेनचोक लगायत धेरै स्थानमा पनि भारी वर्षा मापन गरिएको छ । दरौदी र बुढीगण्डकी नदीहरुमा जलसतह बढ्ने र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै सतर्क रहन भनिएको छ ।
पश्चिमको तुलनामा प्रदेश १ र प्रदेश २ मा भने कम पानी पर्ने छ । गत २४ घण्टामा पूर्वी भागका केही स्थानमा मध्यमखालको वर्षा भए पनि अधिकांस स्थानमा हल्का वर्षा भएको छ ।
३१ साउन २०७७, शनिवार ०४:२८ बजे प्रकाशित





























