punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा शतप्रतिशत रोपाइँ

Chaupati
safha napa

बाजुरा । यो वर्ष बाजुरामा साउनको दोस्रो सातामा धान रोपाइँ सकिएको छ । गत जेठको पहिलो सातबाट यहाँ धान रोपाइँ सुरु गरेको भए पनि असारमा राम्रोसँग पानी नपरेका कारण बल्ल धान रोपाइँ सकिएको हो ।

गत वर्ष समयमै पानी परेकोले ९५ प्रतिशत धान रोपाइँ भएको थियो भने यो वर्ष पानी ढिला परेकोले ९२ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

सिँचाइ सुविधा भएको ठाउँमा जेठको पहिलो सातादेखि धान रोप्न सुरु गरेको भए पनि पानी नहुने र वर्षातको पानीको भरमा रोपाइँ हुने ठाउँमा भने बल्ल यति बेला मात्र साउन दोस्रो साता धान रोपाइँ गरिसकिएको स्थानीय बताउँछन् ।

सिँचाइको सुविधा भएको भए जेठ र असारमै धान रोपाइँ सकिन्थ्यो । हाम्रो यहाँ सिँचाइ सुविधा छैन । आकाशको पानीको भरमा धान रोपाइँ गर्नुपर्छ । यो वर्ष असारमा पनि खासै पानी परेन । पानी नपरेपछि धान रोपाइँ गर्न सकिएन । साउनको पहिलो हप्ता बल्ल पानी पर्‍यो । त्यसै पानीको भरमा अहिले बल्ल धान रोपाइँ सकिएको बुढीगङ्गा नगरपालिका –१० स्थानीय प्रेम नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबै ठाउँमा ठुला सिँचाइ आयोजना सञ्चालन भएका छन् । हाम्रो यहाँ त ठुला त के सानो सिँचाइ पनि छैन । यहाँ सिँचाइ नहुँदा स्थानीयले सधैं यसरी नै पानीको भरमा धान रोपाइँ गर्ने गरेका छन् ।”

असारमा पानी परेको भए त्यति बेलामा रोपाइँ गरेर सकिन्थ्यो । अहिले असारमा पनि पानी थोरै परेकोले त्यति बेला धान रोपाइँ हुन सकेन । साउनको पहिलो सातादेखि पानी परेपछि अहिले बल्ल यहाँका सबैले धान रोपाइँ गरिसकेको नेपालीले बताउनुभयो ।

बाजुराको बुढीगङ्गा, त्रिवेणी, खप्तड छेडेदह लगायतका पालिकामा जेठको पहिलो सातादेखि धान रोपाइँ सुरु गर्ने भएपनि हिमाली, स्वामिकार्तिक, बुढीनन्दा, जगनाथ, गौमुल र बडिमालिका लगायतका पालिकामा भने जेठको दोस्रो तेस्रो सातादेखि धान रोपाइँ सुरु गर्दछन् ।

सिँचाइ सुविधा भएको ठाउँमा स्थानीयले जेठको पहिलो सातादेखि धान रोपाइँ सुरु गर्छन् । आकाशे पानीको भरमा रोपाइँ हुने ठाउँमा अलि ढिला हुन्छ । यतिबेला असारमा पनि खासै पानी राम्ररी परेन त्यसैले यहाँका स्थानीयले यो वर्षमा साउनको दोस्रो सातामा मात्र धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कृषि ज्ञान केन्द्र बाजुरा कार्यालय प्रमुख जसिराम साहनीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ पाँच हजार २३५ हेक्टर जमिनमा मात्र वर्षभरि सिँचाइ हुने गर्छ भने अन्य ठाउँमा आशासे पानीको भरमा मात्र रोपाइँ हुन्छ । गत वर्षमा असारमा पानी धेरै परेकोले साउनको पहिला सातासम्म रोपाइँ सकिएको थियो । यो वर्ष अलि पानी ढिला परेकोले साउनको दोस्रो सातामा रोपाइँ भएको हो ।”

बाजुरामा दुई लाख तीस हजार ३७ हेक्टर जमिनमध्ये २८ हजार हेक्टर जमिनमा मात्र खेती गरिन्छ । त्यसमा सात हजार तीन सय तीन हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख साहनीले बताउनुभयो ।


१४ साउन २०८२, बुधवार १६:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु