दार्चुलाको अपिमा पर्यटक पुर्याउन २१ किलोमिटर पदमार्ग निर्माण
दार्चुला। सुदूरपश्चिम प्रदेशको सबैभन्दा उँचो हिमालका रूपमा रहेको अपि हिमालमा पर्यटक पुर्याउन सङ्घीय सरकारले दार्चुलाको अपि हिमाल गाउँपालिकाको विभिन्न स्थानमा पर्यटकीय पदमार्ग निर्माण गरेको छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमार्फत आर्थिक वर्ष २०७९/८० देखि हालसम्म २१ किलोमिटर पर्यटकीय पदमार्ग निर्माण गरेको हो ।
आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण र गन्तव्यका रूपमा परिचित अपि हिमालको बेस क्याम्पसम्म सहज यात्रा गराउन पर्यटकीय पदमार्ग निर्माण गरिएको पर्यटन विभागका सिनियर डिभिजन इन्जिनियर सचिन्द्रकुमार यादवले जानकारी दिए । विभागबाट आव २०७९/८० मा अपि हिमाल गाउँपालिकाको खाइकोटदेखि बेस क्याम्पसम्म १६ किलोमिटर पदमार्ग निर्माण गरेको उनले बताए । पाँच करोड २८ लाखमा सिँढी, सोलिङ, पिसिसी ढलान र रेलिङ निर्माण गरिएको बताइएको छ ।
यस्तै गत आव २०८१/८२ मा ५.५ किलोमिटर नयाँ पदमार्ग निर्माण गरेको उनले जानकारी दिए। गाउँपालिकाको धनबोरादेखि घुसा, खाइकोटदेखि थुम्ती र छेतीदेखि भिरफाटासम्म पदमार्ग निर्माण गरिएको उनले बताए । गत आवमा पदमार्ग निर्माणमा तीन करोड दुई लाख रुपियाँ खर्च भएको बताइएको छ ।
यसअघि आठ हजार २८२ खुड्किलासहितको सिद्ध मकरीकोट पदमार्ग निर्माण भइसकेको छ । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा अग्लो सात हजार १३२ मिटर उचाइको अपि हिमाल दार्चुलामा पर्दछ । अपि हिमाल बेसक्याम्प घुम्न आउने र अपि नाम्पा संरक्षण क्षेत्रभित्रको प्राकृतिक आनन्द लिन आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दो रहेको पाइएको छ । अपि हिमाल गाउँपालिकाका पर्यटन एकाइ प्रमुख बिसनसिंह बुढाथोकीका अनुसार गत आव २०८१/८२ मा १०३ जना विदेशी तथा दुई हजार ७३३ जना स्वदेशी पर्यटकले अपि हिमाल भ्रमण गरेका छन् ।
अपि हिमालको प्रचारप्रसारलाई तीव्र बनाई थप विदेशी पर्यटक भित्र्याउन गाउँपालिकाले अपि भ्रमण वर्ष २०८० सञ्चालन गरेको थियो भने अतिथि सत्कारका लागि ६१ जना महिला र पाँच जना पुरुषलाई होमस्टे सञ्चालनको तालिम प्रदान गरेको छ । साथै ट्रेकिङ गाइडसम्बन्धी तालिम प्रदान गरी ट्रेकिङ गाइड उत्पादन गरेको छ । अपिनाम्पा संरक्षण क्षेत्रमा हिउँचितुवा, हाब्रे (रेड पान्डा), मृग, रतुवा, घोरल, नाउर, झारल, कालो भालु, दुम्सी, थारलगायत वन्यजन्तु तथा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरालगायत दुई सयभन्दा बढी प्रजातिका चरा पाइन्छन् । जैविक विविधताले भरिपूर्ण यस संरक्षण क्षेत्रभित्र अपि हिमाल र नाम्पा हिमाल पर्दछन् ।
१४ साउन २०८२, बुधवार १३:०८ बजे प्रकाशित































