punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हुलाकी राजमार्ग अन्तर्गतका दुई वटा पुल नबन्दा सास्ती

Chaupati
safha napa

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकामा हुलाकी राजमार्ग अन्तर्गतका दुई वटा पुल नबन्दा स्थानीयले सास्ती भोग्नु परेको छ । धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँ र वडा नम्बर १ शान्तिनगर जोड्ने खोला र शान्तिनगर र वडा नम्बर २ को सन्तोषी टोल जोड्ने खोलामा पुल नबन्दा स्थानीयले सास्ती भोग्नु परेको हो । दुवै खोलामा पुल निर्माणका लागि चार वर्षअगाडि ठेक्का लगाइएको थियो तर अहिलेसम्म पुल बन्न नसक्दा स्थानीयवासी खोला तर्न वा घुमाउरो बाटो भएर वारिपारि ओहोरदोहोर गर्न बाध्य छन् ।

पुल नबन्दा खोला तर्नुपर्ने बाध्यता रहेको वडा नम्बर १ शान्तिनगरका निशा आउजीले बताउनुभयो । उहाँका अनुसार धनगढीगाउँ र शान्तिनगरसम्म आउजाउका लागि पुल बनिरहेको स्थानमा खोलामा ह्युमपाइप राखिएको थियो । बाढीले ह्युमपाइप बगाएपछि खोला तर्नुपर्ने बाध्यता छ ।

उहाँले भन्नुभयो, “ठुलो बाढी आएपछि घुमाउरो बाटो प्रयोग गरेर ओहोरदोहोर गर्नु पर्दछ किनभने वारिपारि गर्नका लागि नजिक पुल छैन । टाढा जानु पर्छ ।”

धनगढीगाउँ हुँदै त्रिनगर भन्सारसम्म हुलाकी राजमार्ग निर्माणको कार्य केही वर्षअगाडि नै सकिएको थियो तर राजमार्ग अन्तर्गत परेका दुई खोलामा पुल नबन्दा धनगढी गाउँ हुँदै भन्सारसम्म हुलाकी राजमार्गमा गाडी गुड्न सकेका छैनन् । पुल नबन्दा स्थानीयवासीलाई पनि वारिपारि गर्न समस्या भइरहेको छ ।

वडा नम्बर २ सन्तोषी टोलका स्थानीय शङ्कर चौधरीले खोलामा पुल बनेमा वारिपारि आउजाउ गर्न सहज हुने बताउनुभयो । उहाँले चार वर्षअगाडि निर्माण गर्न सुरु गरिएको पुललाई निर्माण कम्पनीले अलपत्र छोडेको जिकिर गर्नुभयो ।

हुलाकी राजमार्ग अन्तर्गतका दुइटै खोलामा पुल निर्माणका लागि २०७८ फागुन १९ गते मालिका निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको थियो । २५/२५ मिटर लामो दुवै पुलको क्रमशः पाँच करोड ७२ लाख र पाँच करोड ९२ लाख रुपियाँ लागत रहेको छ । सम्झौतानुसार २०८० असार १९ गते नै निर्माण कम्पनीले पुल सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म ६५ प्रतिशत काम मात्रै पूरा भएको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका इन्जिनियर रमेश पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “दुवै पुलको सुपर स्ट्रक्चरको काम बाँकी रहेको छ ।” तोकिएको समयावधिमा निर्माण पूरा नभएपछि पुलको तेस्रो पटक म्याद थप गरिएको छ ।

 


१४ साउन २०८२, बुधवार १२:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु