punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अजयमेरुकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल

Chaupati
safha napa

डडेल्धुरा।  पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृतएवं पुरातत्त्वविद् भास्कर ज्ञवालीले ऐतिहासिक तथा प्राचीन अजयमेरुकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचिकृत गर्न आवश्यक रहेको बताएका छन्।

जिल्ला समन्वय समितिको समन्वय र अजयमेरु गाउँपालिकाको आयोजनामा बुधबार कोट क्षेत्रमै आयोजित प्रजातन्त्र दिवस कार्यक्रमका अवसरमा उनले अजयमेरुकोटको विशिष्ट कलाकृति र निर्माणशैली कर्णाली नदीभन्दा पूर्वका अन्य देवलहरूभन्दा फरक रहेको उल्लेख गरे।

पुरातत्त्व अध्ययन र उत्खननको कार्य

अजयमेरु गाउँपालिकाले चालु आर्थिक वर्षमा ९० लाख रुपियाँ विनियोजन गरेपछि पुरातत्त्व विभागको टोलीले पहिलो पटक अजयमेरुकोट क्षेत्रमा उत्खनन र अध्ययन गरिरहेको छ। ज्ञवालीका अनुसार यहाँको कलाकृति र निर्माणशैली फरक भएका कारण यस क्षेत्र कत्युरी राजवंशको प्रभावमा रहेको प्रमाणित हुन्छ। यहाँ मण्डपको बिचमा दायाँ-बायाँ देवलहरू निर्माण गर्ने शैली अपनाइएको छ। साथै, बैठक कक्ष र नाउलाहरू विशिष्ट किसिमका छन्, जसले नेपालकै उत्कृष्ट कलाकृतिको पहिचान दिन्छ।

ज्ञवालीका अनुसार, पुरातत्त्व विभागले यसको ऐतिहासिक महत्त्वलाई ध्यानमा राख्दै २०६५/०६६ सालमै यसलाई ‘क’ वर्गमा सूचीबद्ध गरिसकेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका अन्य सम्पदाहरूभन्दा अजयमेरुकोट क्षेत्र अझ महत्त्वपूर्ण रहेको उनले बताए।

इतिहास र संरचनागत विशेषता

अजयमेरुकोट क्षेत्र १३औँ र १४औँ शताब्दीका कोटदेखि किल्लासम्मको रूपले चिनिन्छ। यस क्षेत्रमा दरबारका भग्नावशेषहरू, डबलीहरू, सुरक्षा टावरहरू, रानी गुफा, कुवा तथा राजदरबारसँग सम्बन्धित विभिन्न संरचनाहरू रहेको पुरातत्त्व विभागको अध्ययनले देखाएको छ।

हाट गाउँमा रहेको ढुङ्गे देवलहरू, मण्डली, नाउलाहरू पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण छन्। अजयमेरुकोट सार्वजनिक सम्पत्ति भए पनि हाट गाउँका ढुङ्गे देवलहरू निजी स्वामित्वमा छन्। पुरातत्त्व विभागले यस क्षेत्रका विभिन्न अभिलेखहरू अध्ययन गरिरहेको छ, जसमा निरय पाल र नागी मल्लको अभिलेखहरू फेला परेका छन्।

दरबारको संरचना

हालसम्मको उत्खननमा अजयमेरुकोटमा दुई तलाको करिब १४ कोठे दरबार रहेको हुनसक्ने देखिएको छ। भुईँ तलामा सात कोठा, गल्ली, ढुङ्गे सिँढी, र माथिल्लो तलामा थप कोठाहरू रहेको अनुमान गरिएको छ। मुख्य दरबार क्षेत्रमा अन्य १० वटा ढुङ्गे संरचनाहरू समेत फेला परेका छन्।

विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने पहल

ज्ञवालीका अनुसार, अजयमेरुकोट कुनै पनि हालतमा विश्व सम्पदाको सम्भावित सूचीमा सूचिकृत गर्न योग्य छ। उनले दैलेखको घुर्तिघाह १९९६ मै विश्व सम्पदा सूचीमा परेकाले अजयमेरुकोट झन् प्राथमिकता पाउनुपर्ने बताए। पुरातत्त्व विभागको विश्व सम्पदा शाखाबाट चालु आर्थिक वर्षमै थप अध्ययनका लागि टोली आउने तयारी भइरहेको छ।

यस क्षेत्रको सूचिकरणले पर्यटन, संरक्षण, तथा ऐतिहासिक अनुसन्धानलाई नयाँ उचाइ दिन सक्ने विश्वास गरिएको छ।


८ फागुन २०८१, बिहीवार १२:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु