बाढीपहिरोमा परेर एकजनाको मृत्यु, ९ घर डुबानमा
दोलखा, साउन २३ । दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरामा परी एकजनाको मृत्यु भएको छ । बाढीका कारण स्वास्थ्यचौकी सहित ९ घर डुवानमा परेका छन्।
गौरीशंक गाउँपालिका-८, खारेको टुनिटारमा गए राति पहिरो जाँदा कालिञ्चोक गाउँपालिका-८, सुनखानीका करिब २८ वर्षीय सुरेश शिवाकोटी रहेको स्थानीयले बताएका छन्।
मृतक शिवाकोटी सिगटीबाट टुनिटारको नवनिर्मिति घरमा सटर राख्नका लागि बिहीबार गएका थिए । काम नसकिएर सोही स्थानमा बसिरहेको अवस्थामा पहिरोले पुरेर उनको मृत्यु भएको दोलखाको प्रहरी प्रवक्ता निरीक्षक रुक्शा बज्राचार्यले जानकारी दिइन्। उनकाअनुसार सो पहिरोमा परेर तीन जना घाइते भएका छन् ।
गएराति नै आएको बाढीले गौरीशंकर गाउँपालिका-६, गुरुम्फीको बरु क्षेत्रमा खारे खोलाबाट आएको बाढी बजारमा छिर्दा स्वास्थ्यचौकी सहित ९ ओटा घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ। ९ ओटा घरका १० महिला, ७ पुरुष, ७ बालक, १० बालिका गरी ३७ जना विस्थापित भई नजिकको आफन्तको सुरक्षित रहेको प्रहरीले जनाएको छ।
२३ साउन २०७७, शुक्रवार ०३:२४ बजे प्रकाशित













