गौरीफन्टा नाकाको स्तरोन्नीकालागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक देखिनुभएको छ : परराष्ट्रमन्त्री राणा
धनगढी : परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीको भारतसँग सीमाना जोडिएको गौरीफन्टा नाका स्तरोन्नतिका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक रहेको बताएकी छन् । आज (बुधबार )धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन् ।
उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको धनगढी–गौरीफन्टा नाकाको सतरोन्नती गरिदिन र धनगढीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाई दिन अनुरोध गरेको बताइन् ।‘मैले सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको गौरीफन्टा नाकाको स्तरोन्नीका लागि भारतीय प्रधानमन्त्रीसँग कुराकानी गरेको छु । त्यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक देखिनुभएको छ’ राणाले भनिन् ।
उनले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई धनगढी–गौरीफन्टा नाकाको महत्वका बारेमा लेखेर पठाउन निर्देशन दिएको समेत बताईन । ‘नाकाको उपादेयताका बारेमा लेख्न भनेको छु। यस नाकाले नेपाल र भारतको ब्यापार ब्यवसायमा हुने बढोत्तरीका बारेमा पनि लेख्न भनेकी छु। त्यो सबै कुरा भारतलाई लिखित रुपमा बुझाउन भनेको छु उनले भनिन ।
परराष्ट्रमन्त्री राणाले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउनका लागि पनि भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेको बताईन । ‘मैले भारत भ्रमणका क्रममा फाप्ला क्रिकेट मैदान, महाकाली नदीका विभिन्न स्थानमा पक्की पुल बनाउन पनि कुराकानी गरेको छु। त्यसमा भारतीय प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ’ उनले भनिन् ।
परराष्ट्रमन्त्री भएपछि राणा पहिलो पटक गृहनगर धनगढी आएकी हुन । बुधबार विहान धनगढी विमानस्थलममा कार्यकर्ताहरुले उनको भब्य स्वागत गरेका थिए । मोटरसाईकल र कारमा पुगेका कार्यकर्ताहरुले नाराबाजी गर्दै उनलाई विमानस्थलबाट देउवा निवास उत्तरबेहडीसम्म ¥याली गरेर पुगाएका थिए ।
मन्त्री राणाको स्वागतमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का, राज्य मन्त्री सरस्वती खड्कालगायतका मन्त्री तथा प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियो ।
मन्त्री राणा धनगढी स्थित आफ्नो घरमा गौरा विसर्जनका लागि आएकी हुन् । आरजुले हरेक वर्ष धनगढी स्थित आफ्नो निवासमा हरेक वर्ष गौरा पर्व मनाउदै आएकी छन । विमानस्थलबाट आफ्नो निवास पुुगेकी राणाले गौरा देवीको दर्शन गर्नुका साथै पूजा अर्चना गरि गौरा विसर्जन गरेकी छन् ।
१२ भदौ २०८१, बुधवार १९:४० बजे प्रकाशित






























