कोरोनाको त्रासले काठमाडौंका व्यस्त बजार बन्द
काठमाडौं, साउन १२। लकडाउन खुला गरिएसँगै काठमाडौं उपत्यका कोरोना भाइरस महामारीको उच्च जोखिममा छ। सरकारले साउन ६ गते मध्यरातदेखि लकडाउन अन्त्य भएको घोषणा गरेपनि कोरोना संक्रमणको दर घटेको छैन।
अर्कोतर्फ सरकारले परीक्षणको दायरा पनि खुम्च्याएको छ। काठमाडौं जिल्ला प्रशासन प्रमुख जनकराज दाहाल स्वास्थ्य सम्बन्धी मापदण्ड लागू नै नभएकाले कोरोना संक्रमणको जोखिम अझ बढ्न सक्ने बताउँछन्।
‘सरकारले लकडाउन खोलेको हो तर कोरोनाको जोखिम सकियो भनेको छैन। कोरोना संक्रमणबाट बच्न ल्याइएका स्वास्थ्य सम्बन्धी मापदण्डको पालना नै भएन’, सिडिओ दाहाल भन्छन्। देशभर पछिल्लोपटक आइतबार एक सय ३० जना संक्रमित थपिएका थिए। राजधानीमा मात्र ८ जना थिए।
सरकारले असार २६ गतेदेखि उपत्यकाको हकमा तीन जिल्लाभित्र र बाहिरको हकमा जिल्लाभित्र सवारी साधन चल्ने निर्णय गरेको थियो। त्यसअघि नै निजी सवारी साधन खुला गरिएका थिए।
भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन चल्ने निर्णय भइसकेको छ। लकडाउनका कारण गाउँ गएकाहरु निरन्तर काठमाडौं फर्किरहेका छन्।
उपत्यका फर्कँदा स्वास्थ्य परिक्षणको रिपोर्ट र आफू बस्न स्थानीय निकायको अनुमति चाहिनुपर्ने व्यवस्था गरिएपनि यसको कार्यान्वयन पक्ष फितलो रहेको अधिकारीहरु बताउँछन्।
काठमाडौं जिल्ला प्रशासन प्रमुख दाहाल भन्छन्, ‘मास्क लगाएर हिँडदिनुस्, सामाजिक दुरी कायम गरिदिनुस् भनेका छौँ। भिडभाडमा नजानुस् भनेका छौँ। यो हाम्रै लागि हो। तर मानिसहरु सामान्य अवस्थामा जसरी हिँडिरहेका छन्।’
बाहिरबाट काठमाडौं आउँदा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले परीक्षण र स्वास्थ्य सावधानी अपनाउन उनले आग्रह गरे।’ प्रशासन, स्थानीय निकायले मात्र सावधानी अपनाएर हुँदैन, मानिसहरु आफै सचेत हुनुपर्छ’, बाहिरबाट मानिसहरु उपत्यका भित्रिरहेको र लामो दुरीका सवारी साधन चल्ने निर्णयतर्फ इंगित गर्दै उनले भने।
लकडाउन खुलेसँगै राजधानीका अधिकांश क्षेत्रमा भिडभाड देखिन्छ। सामाजिक दुरी कायम गरिएको पाईदैन। यात्रुबाहक सवारी साधनमा समेत मानिसहरु बाक्लिएका छन्।
१२ साउन २०७७, सोमवार ११:२३ बजे प्रकाशित































