कोशीमा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्की, कांग्रेसद्वारा बहिस्कार
विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार कोशी प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव राखेका छन् ।
नेकपा (एमाले) संसदीय दलका नेतासमेत रहेका कार्की वैशाख २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
कार्कीलाई एमालेसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालकी सांसदले विश्वास मत दिने भएका छन् ।
यहाँ एमालेका ४०, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपा नेपालका एक सांसद छन् । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ४७ जना सांसद भए पुग्छ ।
नेपाली कांग्रेसले भने मुख्यमन्त्रीलाई विश्वास नदिने भएको छ । कांग्रेस सांसद बैठकमा उपस्थित पनि भएका छैनन् ।
कांग्रेस संसदीय दलको सोमबारको बैठकले सर्वोच्च अदालतमा मुख्यमन्त्रीविरूद्ध मुद्दा विचाराधीन रहेकोले मुख्यमन्त्रीले विश्वास मतका लागि प्रस्ताव राख्ने बैठकमै सहभागी नहुने निर्णय गरेको छ ।
कांग्रेसले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई अहिले नै विश्वास मत नलिन आग्रह गरेको थियो। तर सत्तापक्षले सोमबार नै विश्वास मत लिने गरी अघि बढेपछि कांग्रेसले प्रदेश सभा बैठक नै बहिष्कार गरेको हो ।
३१ वैशाख २०८१, सोमवार १४:०० बजे प्रकाशित































