काठमाडौँ महानगरले दियो प्रसुतिगृह र वीर अस्पताललाई अत्यावश्यक सामग्री
काठमाडौं, साउन ४ । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीलाई कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई अनुदान स्वरुप दिएका केही स्वास्थ्य सामाग्री ती दुई अस्पताललाई आज हस्तान्तरण गरेको हो ।
असार ११ गते तातो पानी नाकाको मितेरी पुलमा ल्हासा सहरका विदेश विभाग प्रमुख झासजियकन सहितको टोलीले काठमाडौँ महानगरपालिकाकाको टोलीलाई हस्तान्तरण गरेका ती सामाग्री पैदल मार्गबाट सिन्धुपाल्चोक हुँदै काठमाडौं ल्याइएको थियो ।
१
४ लाख ९९ हजार ३ सय ७५ चिनियाँ युआन अर्थात करीब २ करोड ५७ लाख २९ हजार २७५ रुपैयाँ बराबरका ती स्वस्थ्य सामाग्री मध्ये आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा वीर अस्पताललाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट ३००० थान, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीइ) ५ सय थान हस्तान्तरण गरिएको हो ।
त्यसैगरी प्रसुतीगृहलाई पीसीआर मेसिन एक थान, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पीपीइ ५ सय थान हस्तान्तरण गरिएको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र विलास बज्राचार्यले जानकारी दिनुभयो ।
प्रसुती गृहलाई हस्तान्तरण गरेको पीसीआर मेसिनको मूल्य चार लाख ४० हजार युआन र वीर अस्पताललाई हस्तान्तरण गरेको स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिनको मूल्य १ लाख युआन रहेको महानगरपालिकाले जानकारी दिएको छ ।
स्वास्थ्य सामाग्री हस्तान्तरणपछि महानगरपालिकाका प्रमुख शाक्यले काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध स्थापित गरेको ल्हासा सहरले अनुदान स्वरुप दिएका केही स्वास्थ्य सामाग्री दुई अस्पताललाई हस्तान्तर गरेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम वसेलका अनुसार अधिकृत यम वस्यालले ल्हासाबाट स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, यसमा प्रयोग हुने रिजेन्ट ३ हजार थान, पिसिआर मेसिन १ थान, भिटिएम ३ हजार थान प्राप्त भएको जानकारी दिनुभयो ।
यस्तै आरडीटी किट ३ हजार थान, डिस्पोजेब सर्जिकल पञ्जा २ हजार ५ सय थान, मेडिकल मास्क ३ हजार थान, इन्फ्रारेड थर्मोमिटर ३ सय ७५ थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट ९पीपीइ० २ हजार छ सय थान रहेका छन् ।
४ साउन २०७७, आइतवार १४:१६ बजे प्रकाशित































