punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१६ करोड उधारो नतिरेपछि दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर, सम्पत्ति रोक्काको माग

Chaupati
safha napa

बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्न देशव्यापी अभियान छेडेका व्यवसायी दुर्गा प्रसाईंले मेडिकल सामाग्रीको रकम नतिरेको फेला परेको छ। प्रसाईंले आफ्नो मेडिकल कलेजका लागि किनेको मेडिकल सामाग्रीको रकम लामो समयसम्म तिर्न आनाकानी गरेपछि आपूर्तिकर्ताले अदालतमा मुद्दा दायर गरेका छन्।

प्रसाईंका दुई कम्पनी बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, पूर्वाञ्चल क्यान्सर अस्पताललगायतले लिएको उधारो भुक्तानी नभएपछि विवाद अदालत पुगेको हो। १६ करोड ६ लाख १५ हजार ७६० रुपैयाँ सावा र कानुन बमोजिमको ब्याजसमेत माग गरेर सात वटा मुद्दा वैशाख २४ गते झापा जिल्ला अदालतमा दायर भएका छन्। दुई मुद्दा उनको पारिवारिक सदस्यसँग सम्बन्धित छन्।

बैंक तथा वित्तीय संस्थाको ब्याज नतिर्ने अभियान सुरु गरेपछि संकटमा परेका प्रसाईंलाई अन्य क्षेत्रबाट समेत मुद्दाको दबाब सुरु भएको हो। कम्तीमा तीनदेखि सात वर्षसम्म उधारो रकम नपाएपछि आपूर्तिकर्तालेअदालतको ढोका ढक्ढक्याएका हुन्।

प्रसाईंसँगै बिएण्डसीका अन्य सञ्चालक रामबाबु गिरी, इन्दिरा गिरी, डा। रइस पोखरेल र अनुज जङ्ग रायमाझीलाई मुद्दामा विपक्षी बनाइएको छ।

के कति दाबीको मुद्दा

जिल्ला अदालत झापा स्रोतका अनुसार हस्पिटेक इन्टरप्राइजेज, लाइफलाइन ट्रेड इन्टरनेशनल, एसएस इन्टरप्राइजेज, ट्रिनिटी फर्मास्युटिकल्सलगायतले मुद्दा दायर गरेका छन्। सम्पूर्ण मुद्दा औषधी, मेडिकल सामानहरू, सौन्दर्य प्रवर्धक सामान र सरसफाइका सामानहरूको भुक्तानीसँग सम्बन्धित छन्।

अस्पताल र प्रसाईंसमेतलाई विपक्षी बनाएर हस्पिटेक इन्टरप्राइजेजले तीन करोड १८ लाख ४७ हजार ९१६ रुपैयाँ असुल उपरको मागसहित मुद्दा दायर गरेको छ।

यस्तै, हस्पिटेकले नै निरोज मेडीको ट्रेडर्स र उमा प्रसाईं विपक्षी बनाएर दुई करोड १५ लाख ६७ हजार ६७१ रुपैयाँ सावा र ब्याजसमेत भराउन माग गरेर मुद्दा दायर गरेको छ।

बिएण्डसी र प्रसाईंविरुद्ध सबैभन्दा ठूलो माग दाबीको मुद्दा लाइफलाइन ट्रेड इन्टरनेशनलको छ। जसमा रामबाबु गिरी, इन्दिरा गिरी, डा। रइस पोखरेल र अनुज जङ्ग रायमाझी पनि विपक्षी छन्। कूल पाँच करोड २३ लाख १९ हजार २०५ रुपैयाँ सावा भुक्तानी बाँकी रहेको दाबी निवेदकको छ। तीन वर्षदेखि रकम भुक्तानी नभएकाले ब्याज समेत भराउन मुद्दामा माग गरिएको छ।

यस्तै, लाइफलाइन ट्रेड इन्टरनेशनलले नै निरोज मेडीको ट्रेडर्स र उमा प्रसाईं विपक्षी बनाएर अर्को मुद्दा दायर गरेको छ। कम्पनीले अदालतमा गरेको दाबी अनुसार आठ वर्षदेखि एक करोड ४१ लाख ९८ हजार ९३३ रुपैयाँ बाँकी असुल भएको छैन।

लाइफलाइनको तेस्रो मुद्दा पूर्वाञ्चल क्यान्सर अस्पताल र सञ्चालक दुर्गा प्रसाईंविरुद्ध छ। तीन वर्षदेखि १५ लाख १७ हजार १६ रुपैयाँ उठाउन बाँकी रहेको अदालतमा पेस गरेको मुद्दामा उल्लेख छ। बैंक तथा वित्तीय संस्थामा तरलता अभाव रहेकाले पैसा तिर्न नसकेको जवाफ सप्लायर्सहरुलाई प्रसाईंले दिने गरेको पनि मुद्दामा उल्लेख छ।

यस्तै, एसएस इन्टरप्राइजेज फर्मले निरोज मेडीको ट्रेडर्स र उमा प्रसाईंलाई अर्को मुद्दा पनि दायर गरेको छ। एक करोड आठ लाख २१ हजार ८२२ रुपैयाँ रकम तीन वर्षदेखि असुल गर्न नसकेको भन्दै मुद्दा दायर गरिएको हो।

बिएण्डसीलाई ट्रिनिटी फर्मास्यूटिकल्स फर्मले पनि मुद्दा दायर गरेको छ। अस्पतालसहित सञ्चालकहरू दुर्गा प्रसाईं, रामबाबु गिरी, इन्दिरा गिरी, डा। रइस पोखरेल र अनुज जङ्ग रायमाझीलाई ट्रिनिटीले मुद्दामा विपक्षी बनाएको छ। दुई करोड ८३ लाख ४३ हजार १९७ रुपैयाँ सावा असुल बाँकी रहेको मुद्दामा उल्लेख छ। सबै मुद्दामा जस्तै ट्रिनिटीले पनि ब्याज भराइ पाउने दाबी गरेको छ।

सम्पत्ति रोक्काको माग

मुद्दामा पक्षले पाँच प्रतिवादीको सम्पत्ति रोक्काको माग पनि गरेको छ। विभिन्न स्थानमा रहेको अचल सम्पत्ति रोक्का गरिदिन विवरण पनि मुद्दामा उल्लेख गरिएको छ। पाँच प्रतिवादीको तोकिएको जग्गा कारोबार रोक्काको माग पनि मुद्दामा गरिएको छ।

प्रसाईंको झापाको सुरुङ्गा, धाइजन, अनारमनि, गरामनी लगायत क्षेत्रका ६ कित्ता जग्गा रोक्काको माग मुद्दामा गरिएको छ।

यस्तै, अनुज जङ्ग रायमाझीको नाममा रहेको काठमाडौं डिल्लीबजारको एक कित्ता जग्गा रोक्काको आदेश गर्न माग गरिएको छ। डा। रइसको काभ्रे धुलिखेलको जग्गा रोक्काको माग गरिएको छ। ६ आनाको एक कित्ता जग्गा रोक्काको माग मुद्दामा गरिएको छ।

इन्दिरा गिरीको नाममा रहेको झापा, भक्तपुरको मध्यपुर ठिमीलगायत स्थानका ९ कित्ता जग्गा रोक्काको माग मुद्दामा गरिएको छ। सम्बन्धित मालपोतहरूलाई जग्गा रोक्काको आदेश गर्न पनि मुद्दामा दाबी लिइएको छ।


१२ जेठ २०८०, शुक्रवार १२:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु