punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा वन्यजन्तु उद्धार केन्द्र र सामग्री नहुँदा समस्या

Chaupati
safha napa

शुक्रबार बिहान बेलौरी नगरपालिकामा–८ पचुईमा बाघले एक महिलामाथि आक्रमण गर्‍यो । त्यसपछि महिला बेपत्ता भइन् । बाघ दिनभरि घटनास्थलमै बस्यो । जसका कारण महिलाको खोजी गर्नसमेत समस्या भयो । घटना भएकै दिन साँझ जब बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली आयो त्यसपछि मात्रै बाघलाई नियन्त्रणमा लिने प्रयास भयो ।

राति अबेर भएका कारण सोही दिन बाघ नियन्त्रणमा लिन सकिएन । दोस्रो दिन शनिबार बिहानै बर्दियाको प्राविधिक सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोष ९एनटीएनसी० को शुक्लाफाँटा संरक्षण कार्यक्रमको टिमले बाघलाई डाट गरेर नियन्त्रणमा लिन सफल भयो । त्यसपछि मात्रै महिलाको खोजी सफल भयो ।

उक्त क्षेत्रमा बाघलाई नियन्त्रणमा लिन २२ घण्टा लाग्यो । बाघलाई नियन्त्रणमा लिन एनटीएनसीमै प्राविधिक टोली थियो । तर आवश्यक औजारको अभावका कारण बर्दियाको टोली कुर्नुपर्‍यो । ‘जनशक्ति छ, तर औजार छैन, त्यही भएर बाघलाई नियन्त्रणमा लिन ढिलो भयो,’ एनटीएनसीको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले भने, ‘यहाँको टोलीले बाघको उद्धार नगरेकाले अभ्यस्त पनि भएको छैन ।’

जोशीका अनुसार वन्यजन्तु उद्धारका लागि प्राविधिक टोली भए पनि गन, सिरिन्ज, निडिल र औषधिलगायतका साधन छैनन् । यहाँका टोलीले बाघको उद्धार पहिलो पटक गरेको हो । ‘उपकरण भए घटनालगत्तै बाघको उद्धार गर्न सकिन्थ्यो,’ जोशीले भने, ‘बर्दियाबाटै टोली मगाउनु पर्दैनथ्यो ।’ उपकरण मात्रै होइन यसरी नियन्त्रणमा लिएको वा उद्धार गरिएको वन्यजन्तु राख्ने उद्धार केन्द्रसमेत छैन । जसका कारण वन्यजन्तुलाई बाहिर पठाउनुपर्ने बाध्यता छ । शनिबार नियन्त्रणमा लिइएको बाघलाई पनि ललितपुरस्थित चिडियाखाना पठाइयो । यहाँदेखि राधजानी पठाउन ढुवानीमै ठूलो रकम खर्च हुन्छ । फेरि डाट गरेर नियन्त्रण वा उद्धारमा लिइएको वन्यजन्तुलाई लामो दूरीसम्म ढुवानी गर्दा स्वास्थ्यमा समेत समस्या आउन सक्छ । उद्धार केन्द्र नभएकै कारण गत वर्ष कञ्चनपुर र बतैडीमा गरी २ चितुवा मरे । कञ्चनपुरमा भीमदत्त नगरपालिका–१७ मा पासोमा परेको चितुवालाई एनटीएनसीकै टोलीले डाट गरेर उद्धार गरे पनि जोगाउन सकिएन । उद्धार गरेको दोस्रो दिन नै मर्‍यो । बैतडीमा पासोमा परेको चितुवाको उद्धारका लागि बर्दियाबाटै प्राविधिक टोली आयो । प्राविधिक टोली घटनास्थल नपुग्दै चितुवा मर्‍यो ।

यसअघि पनि कञ्चनपुरको ब्रह्मदेवमा समेत एक चितुवा समयमा उद्धार हुन नसकेर मर्‍यो । त्यतिबेला चितुवाको उद्धारका लागि यहाँ पनि बर्दियाकै टोली आउनुपर्ने बाध्यता थियो । ‘वन्यजन्तु उद्धार केन्द्र अति नै आवश्यक छ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन सिंह ठगुन्नाले भने, ‘बाघको घटना पहिलो पटक भएकाले अब यसतर्फ पनि हामीलाई सजग गराएको छ ।’ उनका अनुसार बर्दिया र चितवनमा बाघ राख्ने ठाउँ नभएपछि चिडियाखानामा पठाइएको हो ।

वन्यजन्तुको उद्धार टोली र उद्धार केन्द्र नहुँदा समस्या भएको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव वेदकुमार ढकालले बताए । उनले शनिबार उद्धार गरिएको बाघ राख्ने विषयमा पनि निकै समस्या भएको बताए । ‘बर्दिया, चितवन र काठमाडौं चिडियाखानामा पनि ठाउँ नपाउदा निकै गाह्रो भयो,’ उनले भने, ‘चिडियाखानामा भाले मात्रै भएका कारण अनुपात मिलाउन सजिलो हुने भएको त्यहाँ राख्न सहज भयो ।’

मन्त्रालयका सचिव ढकालले सुदूरपश्चिम केन्द्रित गरेर कैलालीको अत्तरियामा उद्धार केन्द्र वा चिडियाखाना बनाउने विषयमा छलफल भइरहेको बताए । यसबाट उद्धार गरिएको वन्यजन्तुलाई राख्न सकिने र पर्यटकीय स्थलका रूपमा समेत विकास गर्न सकिने उनले बताए ।

उद्धार केन्द्र वा चिडियाखानका लागि जनशक्तिदेखि आहारा, औषधि उपचार लगायतको व्यवस्थापनका लागि कार्यक्रम नै आवश्यक पर्छ । शुक्लाफाटा निकुञ्जमा बाघको संख्या दोब्बर पुगेको छ । पछिल्लो गणनाअनुसार यहाँ ३६ वटा बयस्क बाघ छन् । नेपालसँगै जोडिएको भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा पनि बाघको संख्या उल्लेख्य मात्रामा बढेको छ । जसका कारण आगामी दिनमा मानव वन्यजन्तुका द्वन्द्वका घटना बढ्ने अनुमान गरिएको छ । यसको नियन्त्रणका लागि पनि उद्धार टोली र केन्द्र अत्यावश्यक भएको संरक्षणकर्मी बताउँछन् ।

मृतकका परिवारलाई सहयोग

कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईमा बाघको आक्रमणमा परी मृत्यु भएकी महिलाका परिवारलाई आर्थिक सहायोग प्रदान गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमले आइतबार पीडित परिवारलाई ५० हजार सहयोग गरेको हो । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कोषबाट पीडित परिवारलाई जीविकोपार्जनका लागि उक्त रकम सहयोग गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशी बताए ।

वन्यजन्तुको आक्रमणमा पनि मृत्यु भएका परिवारलाई सरकारले राहतस्वरूप १० लाख दिने गरेको छ । उक्त राहत रकम भने विभागबाटै प्राप्त भएपछि प्रदान गरिनेछ । शुक्रबार बिहान बाघको आक्रमणबाट पुचईकी ४२ वर्षीया गंगा चन्दको मृत्यु भएको थियो ।


११ वैशाख २०८०, सोमवार ०८:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु