नदीमा बगेर बेपत्ता भएका बालक भारतमा मृत भेटिए
बैतडी, असार २९ । चमेलिया नदीमा बगेर बेपत्ता भएका बैतडीको डिलासैनीका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन् ।
डिलाशैनी गाउँपालिका वडा नम्बर ६ चौसेराका ९ वर्षीय रुपेश नाथ मृतावस्थामा फेला परेकेो प्रहरीले जनाएको छ ।
डिलाशैनी वडानम्बर ६ डडियास्थित चमेलिया नदीमा आइतबार दिउँसो २ बजे बगेका बालक साँझ ७ बजे महाकाली नदीपारि भारतको झुलाघाटमा मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
बाख्रा चराउन चमेलिया नदी किनार गएका रुपेश नदीमा बगेको गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मनोजसिंह साउदले बताए । बालकको शव परीक्षण भारतमै गरिने र आज झुलाघाट नाका खोलेर नेपाल ल्याइने प्रहरी नायव उपरीक्षक अधिकारीको भनाइ छ ।
शव नेपाल ल्याउन भारतीय प्रशासन र प्रहरीसँग समन्वय भइरहेको छ । जसका लागि भारतीय प्रहरीले दुई जना आफन्तलाई बोलाएको छ । कोरोनाका कारण अहिले झुलाघाट नाका बन्द छ ।
२९ असार २०७७, सोमवार ०३:४० बजे प्रकाशित































