देउवाको गृह जिल्लामा सरकारी सवारीको दुरुपयोग : नगरपालिकाको गाडी नेविसंघका मतदाता बोक्न प्रयोग
कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सरकारी गाडी मतदाता बोक्न प्रयोग भएको पाइएको छ ।
डडेल्धुरा बहुमुखी क्याम्पसमा भइरहेको स्ववियु निर्वाचनका क्रममा अमरगढी नगरपालिकाको सरकारी गाडीले मतदाता बोकेको हो ।
नगरप्रमुख र उपप्रमुखसहित नेपाली कांग्रेसको बहुमत रहेको अमरगढी नगरपालिकाको स्वामित्वमा रहेको से १ झ २३९ नम्बर प्लेटको बोलेरो जिप दुरुपयोग गर्दै मतदाता ओसारेको अनेरास्ववियु सुदूरपश्चिम संयोजक मनोज राईले बताए ।
‘कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला स्ववियु निर्वाचन प्रभावित पार्न आचारसंहिताको धज्जी उडाइएको छ’ उनले भने ‘सरकारी गाडीको दुरुपयोग गर्ने र सत्ता शक्तिको भरमा मतदाता प्रभावित पर्ने प्रमुख उपप्रमुख दुबैलाई कारबाही हुनुपर्छ ।’
उता डडेल्धुरामा पनि अनेरास्ववियु र अखिल क्रान्तिकारीले नेपाल विद्यार्थी सङ्घले सत्ताको दुरुपयोग गर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदाताहरू प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाएका छन्। जिल्ला प्रशासन कार्यालयले सो सम्बन्धमा विद्यार्थी नेताहरूबाट गुनासो आएकोले तत्काल अमरगढी नगरपालिकालाई सवारी साधनको दुरुपयोग रोक्न निर्देशन दिएको जनाएको छ।
यस विषयमा अमरगढी नगरपालिकाका पार्वती झुकालले आफू मात्रै गाडीमा रहेको विद्यार्थीलाई बोक्ने काम नभएको दाबी गरिन् ।
५ चैत २०७९, आइतवार १४:४७ बजे प्रकाशित






























