माओवादी सुदूरपश्चिम प्रदेश पदाधिकारीको बैठक जारी, कारबाही र मनोनीतको सूचि लामो
कैलाली । सुदूरपश्चिम प्रदेश माओवादी पदाधिकारी बैठक आज पनि बसिरहेको छ । कैलालीको गौरिगंगाबाट हिजो सुरु भएको बैठकको दोस्रो दिन आज धनगढीमा बसिरहेको छ ।
बैठकमा अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेर आएकाहरूको व्यवस्थापन, सचिवालय गठन र सरकारका बिषयमा छलफल भइरहेको छ । आज बैठक सम्पन्न गर्ने तयारी भएपनि भोली सम्म बैठक जारी रहन सक्ने एक पदाधिकारीले बताए ।
अन्य पार्टीबाट माओवादीमा आएकाहरूलाई मनोनीत गर्ने र माओवादी त्यागेका तथा निर्वाचनमा अन्तर्घात गरेकाहरूलाई कारबाही गर्ने सूचि लामो हुँदा बैठक भोली सम्म चल्न सक्ने ती नेताले बताए ।
हिजोको बैठकमा पनि यही बिषयमा छलफल भएको थियो । हिजो कुनै निर्णय नभएको र आज निर्णय गर्ने माओवादीको तयारी रहेको थियो । तर,आज पनि निर्णय पुरा हुने सम्भावना क्षीण रहेको छ ।
सरकारलाई विश्वासको मत दिने बिषयमा आज पनि ठोस निर्णय नहुने बुझिएको छ ।
‘यो केन्द्रबाटै निर्धारण हुने बिषयमा भएको हुँदा प्रदेशमा निर्णय नहुन सक्छ’ एक पदाधिकारीले भने ‘तर, सरकारलाई विश्वासको मत दिने र नदिने भन्ने बिषयमा भने गम्भीर छलफल भइरहेको छ।’
सुदूरपश्चिम प्रदेशमा माओवादीले विश्वासको मत दिन सक्ने अनुमान कांग्रेसका नेताहरूले गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई र केही माओवादीले पाएको प्रदेशमा कांग्रेसले पनि विश्वासको मत दिएको हुँदा यहाँ कांग्रेस सरकारलाई माओवादीले विश्वासको मत दिने अनुमान गरिएको हो ।
तर, माओवादीले भने यस बिषयमा अझै ठोस निर्णय गरिसकेको छैन । नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नहुँदा सम्म विश्वासको मत दिन नसकिने बताएको छ। माओवादीले पनि विश्वासको मत नदिएको अवस्थामा सरकार एक महिनामै ढल्ने देखिएको छ ।
यस अघिको एमाले सरकार पनि विश्वासको मत नपाएर एक महिनामै ढलेको थियो ।
९ फागुन २०७९, मंगलवार १७:३८ बजे प्रकाशित






























