सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भेटे देउवालाई
काठमाण्डौँमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाविच भेटवार्ता भएको छ। काठमाण्डौँ गएका मुख्यमन्त्री हले आइतवार बिहान देउवा निवास धुम्बाराहीमा पुगेर काँग्रेस सभापति देउवासँग भेट गरेका थिए।
उनीहरु बीचमा पछिल्लो समसामयीक राजनीतिक बिषयका बारेमा देउवासँग छलफल भएको जनाइएको छ। यस्तै मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक काठमाडौं गएका शाहले देउवासँगै काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य आरजु राणा देउवासँग पनी भेटवार्ता गरेका हुन्।

नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार विश्वासको मत नपाएर ढलेपछि शुक्रवार शाह मुख्यमन्त्री नियुक्त भएका थिए।उनी शनिवार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको घर पुगेका थिए।
शनिवार नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँगसमेत मुख्यमन्त्री शाहले भेटवार्ता गरे। उनी आइतवार बिहान काठमाडौँ पुगेका हुन्।मुख्यमन्त्री शाहले सभापति देउवासँग राजनीतिक घटनाक्रम र प्रदेशको विकास निर्माणका विषयमा छलफल गरेको काँग्रेस स्रोतले बताएको छ।
मुख्यमन्त्री शाहले सुदूरपश्चिममा नागरिक उन्मुक्ति, एमाले, माओवादीसहितका दलहरुको संयुक्त सरकार गठन गर्ने दाबी गर्दै आएका छन्। सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका शाहले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने छ।
उनलाई एकीकृत समाजवादी बाहेक माओवादी, नागरिक उन्मुक्ति वा एमालेको साथ आवस्यक छ। अहिले मुख्यमन्त्री शाहलाई काँग्रेसका १९, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसदको साथ छ। सुदूरपश्चिम प्रदेश सभामा ५३ सदस्य छन्।
विश्वासको मतका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवस्यक हुन्छ। सुदूरपश्चिममा काँग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका चार, राप्रपाका एक/ एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।…
२९ माघ २०७९, आइतवार १६:१२ बजे प्रकाशित































