कैलालीमा पुगेर माधव नेपालले भने, रेशम चौधरीजीलाई रिहा गर्नु आवश्यक छ
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेलमा रहेका रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने बताएका छन्। उनले लामो समयसम्म जेलमा राखिराख्न नहुने भन्दै सरकारलाई रेशम चौधरीलाई रिहाइ गर्न आग्रहसमेत गरे।
आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘रेशम चौधरीलाई रिहाइ गर्न आवश्यक छ। रिहाइका लागि सरकारसँग माग गर्दर्छौँ।’ उहाँ (रेशम) लाई रिहा गर्न आवश्यक छ, रेशम मात्र होइन, हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरूका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन्। यस्ता राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाई छिटो टुंगो लगाउनु राम्रो हुन्छ।
उनले राष्ट्रपति सबैको सहमतिमा चयन हुने बताए। ‘अहिलेको सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै राष्ट्रपतिका लागि साझा व्यक्ति भनिरहेकाले सहमतिमा राष्ट्रपति चयन हुन्छ’, अध्यक्ष नेपालले भने।
उनले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले सबैलाई समेटेर अघि बढ्नु पर्ने बताउँदै यस सरकारले विश्वासको मत प्राप्त गर्ने उल्लेख गरे।एमालेप्रति लक्षित गर्दै पूर्वप्रधानमन्त्री नेपालले एकता गर्न तयार भएको बताए।‘गलत चिन्तन बोकेका पार्टीहरूले आफूलाई सुधारे हामी जोसँग पनि एकता गर्न तयार छौँ’, उनले भने। एकताका लागि विचार मिलेर मात्र नहुने त्यसका लागि मन पनि मिल्नुपर्ने उनको भनाइ छ।
२९ माघ २०७९, आइतवार १५:१५ बजे प्रकाशित






























