रास्वपाको चेतावनी– गृह नपाए सरकारबाट बाहिरिने, गृहमन्त्रीमा फेरि रविलाई नै पठाउने
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका रवि लामिछाने फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति भएका छन् । आइतबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उनलाई फेरि सभापति बनाएको हो ।
अर्कोतिर शुक्रबारकै फैसलाका कारण लामिछानेले सांसद, उपप्रधान तथा गृहमन्त्रीको पद पनि गुमाएका थिए ।
अदालतको फैसलाका कारण गृहबाट पदच्यूत भएका रवि लामिछानेलाई नै फेरि गृहमन्त्री बनाएर पठाउने तयारीमा रास्वपा रहेको छ । आज बसेको बैठकमा सरकारमा सहभागी हुन आफूहरुले गृह मन्त्रालय नै पाउनु पर्ने उनीहरुले दाबी गरेका छन् ।
‘गृह मन्त्रालय नै हाम्रो बटमलाइन हो,’ रास्वपाका एक नेताले भने, ‘गृह मन्त्रालय पाएनौँ भने हामी सरकारबाट बाहिरिन्छौँ ।’
आजको बैठकमा उनीहरुले गृहमन्त्रीको रुपमा फेरि रवि लामिछानेलाई नै पठाउने तयारी गरेका छन् । संविधानतः गैर सांसद व्यक्ति ६ महिनासम्मका लागि मन्त्री हुन पाउँछन् । योबीचमा हुने चितवन २ को उपनिर्वाचनमा उनले जितेर आउने अनुमान रास्वपाले गरेको छ ।
अर्कोतिर, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्ने तयारी गरेका छन् । यस विषयमा छलफल गर्न अहिले उनी सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा वार्तामा छन् ।
१५ माघ २०७९, आइतवार १७:४८ बजे प्रकाशित





























