सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेताका लागि ७ आकांक्षी, सहमति जुट्न नसक्दा निर्वाचनको तयारी
कैलाली । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेताका लागि ७ जनाले दाबी पेस गरेका छन् । आज प्रदेश उपसभापति लोकराज अवस्थी सहितका नेताहरूले बोलाएको छलफलमा १९ जना प्रदेश सभा सदस्यहरू मध्ये ७ जनाले दाबी गरेका हुन् ।
प्रदेश उपसभापति ,महामन्त्री सहितका नेताहरूसँगको छलफलमा बैतडीबाट निर्वाचित शिवराज भट्ट, कञ्चनपुरबाट निर्वाचित बहादुर सिंह थापा र दिवान सिंह विष्ट अछामबाट निर्वाचित मेघराज खड्का, कैलालीबाट निर्वाचित प्रकाश बहादुर देउवा र कमल बहादुर शाहले दाबी गरेका थिए । छलफलमा ६ जनाको दाबीमा सहमति नजुट्दै अछामबाट निर्वाचित मान बहादुर रावलले पनि दाबी गरे । उनी प्रदेश सभामा ज्येष्ठ सदस्य हुन् ।
७ जना नेताहरू बिच दलको नेता बन्नेबारे भएको छलफलमा सहमति जुट्न नसकेपछि नेताहरू छलफलबाट बाहिरिएका थिए । मङ्गलवार दिउसो मात्र होइन साझ पनि यस बिषयमा अनौपचारिक छलफल भएको थियो । उक्त छलफलमा पनि निकास निस्किएन । भोली बिहान पनि छलफल गर्ने र सहमति जुट्न नसके निर्वाचन प्रक्रियामा अघि बढ्ने सङ्केत देखिएको छ ।
अहिले कांग्रेस भित्र ७ जनाले दाबी गरे पनि निर्वाचन प्रक्रिया सम्म पुग्दा दुई वा तीन जना सम्म मात्रै उम्मेदवार रहने कांग्रेस नेताहरूकै दाबी छ । अहिले सम्म कैलालीबाट निर्वाचित प्रकाश देउवा हाबी छन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवाका सहोदर भतिजा हुन् ।
पार्टी केन्द्रीय सभापति देउवाको सहोदर भतिजा पनि दलको नेतामा आकांक्षी भएपनि केही नेताहरू उनलाई नै समर्थन गर्ने योजनामा छन् । केही नेताहरू चुनाव लड्ने मनसायमै रहेको कांग्रेस नेताहरूको बुझाइ छ । भोली साझ सम्म सके सहमति नभए निर्वाचन मार्फत भएपनि संसदीय दलको नेता छनोट हुने प्रदेश महामन्त्री मेघराज खड्काले बताए ।
सुदूरपश्चिममा प्रदेश सभाको बैठक सुरु भइसकेको छ । पहिलो बैठकले २८ गते सभामुखको निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ । भोली प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि एक सता भित्रै बहुमत पुराउन दलहरूलाई आह्वान गर्ने तयारी छ । सरकार गठन र सभामुख चयन प्रक्रिया सुरु हुँदै गर्दा कांग्रेसलाई भने दलको नेता चयन गर्न सकस भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस बाहेक एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले सर्वसम्मत रुपमा दलको नेता चयन गरिसकेका छन् ।
१९ पुस २०७९, मंगलवार २०:५० बजे प्रकाशित































