कहिले गठन हुन्छ सुदूरपश्चिममा नयाँ सरकार ?
माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल देखिएको छ।
५३ सदस्यीय प्रदेश सभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले टीकापुर घटनाका बन्दी रिहाइ नभएसम्म आफूहरुले कसैलाई सरकार बनाउन सहयोग नगर्ने र सरकारमासमेत सहभागी नहुने बताएका छन्।
प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन। प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ सदस्य रहेका छन्। नेकपा माओवादी केन्द्र को ११, नेकपा ९एमाले० को दश, नेकपा ९एकीकृत समाजवादी०को चार, राप्रपा र स्वतन्त्र एकरएक जना रहेका छन्।
सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्दछ। सजिलैसँग सबै दललाई बहुमत जुटाउन कठिन छ। नागरिक उन्मुक्तिले केन्द्र सरकार गठनमा भने समर्थन गरेको छ।
कांग्रेस र नागरिक उन्मुक्तिबाहेक प्रदेश सभामा माओवादी, एमाले, राप्रपा मिल्दा २२ सदस्य मात्र पुग्छन्। चार सदस्य रहेको ९एकीकृत समाजवादी०ले सरकारमा जाने वा नजाने निर्णय अझै गरिसकेको छैन।
समाजवादीले पनि सरकारमा जाने निर्णय गरेमा २६ सदस्य पुग्छन्। सरकार गठनमा अन्योल देखिँदा नागरिक उन्मुक्ति पार्टीका साथै डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका डा तारा जोशीलाई आ–आफ्नो पक्षमा पार्ने रणनीतिमा दलहरु देखिन्छन्।
नेकपा ९एमाले०का प्रदेशसभा सदस्य धर्मराज पाठक केन्द्रमा दलका शीर्ष नेतृत्वबीच कुन प्रदेशमा कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेकोले त्यसको टुंगो लागेपछि प्रदेश सरकार गठनमा देखिएको अन्योल हट्ने बताउँछन्।
‘प्रदेशसभाको अहिले देखिएको अंक गणितले सरकार गठनमा केही अन्योल त छ नै’, उनले भने, ‘केन्द्र सरकार गठनमा नागरिक उन्मुक्तिले बाहिरबाट समर्थन गरेकै छ, प्रदेश तहमा पनि गर्नसक्ने सम्भावना छ।’
प्रदेश सभाका सदस्य एवं कांग्रेसका नेता प्रकाश बमले सरकार गठनको विषयमा कांग्रेसले नागरिक उन्मुक्ति र स्वतन्त्र सदस्यसँग छलफल गरिरहेको बताए। उनले भने, ‘आजसम्म प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्नुभएको छैन, कसको नेतृत्वमा र कुन कुन दलको सरकार गठन हुन्छ भन्ने कुरा नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको हात छ।’
१८ पुस २०७९, सोमवार १२:०८ बजे प्रकाशित































