सुदूरपश्चिमको सरकारमा त्रिपक्षीय दाबी, मुख्यमन्त्रीको लागि को छ त हाबी ?
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीले दाबी गरिरहेको छ । अहिले सम्म यी तिनै पार्टीले संसदीय दलको नेता पनि छनोट गरिसकेका छन् ।
एमालेबाट राजेन्द्र रावल,माओवादी केन्द्रबाट खगराज भट्ट र नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी दलका नेता हुन् । गठबन्धन बाहिर रहेको नेकपा एकीकृत समाजवादीले पनि दलको नेता छनोट गरिसकेको छ । नेकपा एसको दलको नेता दीर्घ सोडारी हुन्
अहिले एमाले नेतृत्वको गठबन्धनमा रहेका ठुला यी तिनै दलले सरकारको दाबी गर्दा सहमति जुट्न सकेको छैन ।
माओवादी केन्द्र वा एमालेले सरकारको नेतृत्व गर्ने चर्चा चलिरहेका बेला नागरिक उन्मुक्तिले कुनै गठबन्धनमा सहभागी नजनाउने भनेपछि मुख्यमन्त्री दिनुपर्ने बाध्यता आइलाग्न सक्ने विश्लेषण गरिएको छ ।
अहिले सम्म नागरिक उन्मुक्तिलाई प्रदेश प्रमुखमा मनाउने प्रयास जारी छ । प्रदेश प्रमुखमा नागरिक उन्मुक्ति समझदारीमा आए सुदूरपश्चिममा माओवादी वा एमालेको सरकार तयार हुन्छ । यस अघि प्रदेश १ गण्डकी र कर्णालीमा एमालेले सशक्त दाबी गरिरहेको छ । यो हुँदा सुदूरपश्चिम प्रदेश माओवादीको भाग लाग्छ सक्छ । माओवादीले सरकारको नेतृत्व गर्ने अवस्था सृजना भए खगराज भट्ट मुख्यमन्त्री बन्ने छन् । उनी माओवादी संसदीय दलका नेता हुन ।
सुदूरपश्चिममा सरकार बनाउन एमाले नेतृत्वको सत्तारुढ गठबन्धनसँग बहुमत छ। जसअनुरूप ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा समानुपातिकसहित नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्र का ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्य छन्।
अहिलेको सत्ता गठबन्धनका ४ दल मिल्दा प्रदेश सांसदको संख्या २९ हुन्छ। सुदूरपश्चिम प्रदेशसभामा २७ जना सांसद सरकार गठनका लागि हुँदा सहज बहुमत पुग्छ।
प्रदेश भामा सबैभन्दा ठूलो दल नेपाली कांगेसका १९, नेकपा एकीकृत समाजवादी का ४ र एक जना स्वतन्त्र सांसद रहेका छन्।
१८ पुस २०७९, सोमवार ०७:५१ बजे प्रकाशित































