punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कविता- आँसु र रगतको हिसाब

Chaupati
safha napa

 रमा भट्टराई

धनगढी, कैलाली

मानिसको जस्तै स्वरुप भएको
मानव हुन नपाएको एउटा मान्छे
किन कुटिन्छ धारो, कुवा, पँधेरोमा ?
किन मर्नुपर्छ पानी छोएको बहानामा ?
ए पण्डित बा, भनिदेऊ,
के चल्नुपर्छ पृथ्वीले पनि तिम्रै चाहनामा ?

जातै जातका खाडलहरु
पुर्नै नसकिने गरि खनिए
धर्ती र आकाश को दुरि झै उचाइमा
तगारोहरु ठड्याइए
ती खाडल पुर्ने र हटाउने
पाराक्रमीहरु हारे
प्रेमको नाटक मंचन हुने
यहि रंग मंचमा

कति मारिए
प्रेम पुजारीहरु
प्रेमको फुलबारी निर्माणमा जुटिरहे
कोरिरहे चित्रहरु आकार दिदै
साकार बनाउन आफ्नो प्रेमालय
तर बुझेनन तिनले
आफू र तिमी बिचको भिन्नता
जनावर र ढुंगा पुज्नेहरुले
आफुजस्तै मान्छेलाइ छोइदा
सुनपानी छर्किन्छ भन्ने

मान्छे जस्तै अर्को मान्छे
कसरी सुनपानी छर्किने भयो ?
जनावर भन्दा तल्लो स्तरको कसरी भयो ?
मन्दिर र भगवानका ठेकेदारहरु
कस्ले दियो अधिकार प्रेमका फुलहरु निमोठ्ने ?

गुलाफ जस्तै
बेली र चमेलीको
लालीगुंरास जस्तै पलासको
साझा थलो हो फुलबारी
न भिर लाली गुरास एक्लैको हो
न न फांटहरु गुलाफहरुको मात्र हो
फेरि ,
कसरी लाग्छ तिमीलाइ
यो धर्ती र मानव सभ्यता
मात्र तिम्रो वंशिय बिर्ता हो ?

बिर्ता नै हो भने
नाङ्गै हिड आजबाट
दमाइले सिलाएको आङ्को लुगा फुकाउ
कामीले बनाएका हतियार फ्याक
सार्कीले सिएको जुत्ता खोल

यी कर्मबिरहरुलाई
काम र पेशाकै आधारमा अछुत बनाइएका
सारा उद्धम गर्न छोड
हावा पानीको बहावलाई रोक
आफ्नै लागि मात्र थुनेर राख
निश्चित परिधिभित्र
सक्छौ राख्न ?

रगतको भिन्नता छुट्याइदेउ
भन ए पन्डित बा
तिम्रो भगवानलाई
हेर्दा नदेखिने
सेतो छ कि कालो
निलो छ कि खैरो
या बगिरहेको छ नसामा पानी

तिम्रै जस्तो आकृती भएका
तिमी जस्तो हुन नपाएका
सारा ती कस्ता कहाँका प्राणी हुन् ?
ल यिन्को जन्म र उद्द्गम स्थल पत्ता लगाइदेउ
र पठाउ यो धर्ती बाट अन्तै
या छोड यो धर्ती
अर्को कुनै ग्रहमा बसाउ आफ्नो साम्राज्य ।

छोइन्छ भने
धर्ती छुइन्छ
आकाश छुइन्छ
धर्तिमा बग्ने नदी
ताल र झरना छुइन्छ
यी सबैलाई उपभोग गर्दा
प्रत्येक गाँससंगै फेर्ने श्वाससंगै
अछुतहरुले बिटुलो बनाइरहेछ्न
कुन सुनपानी छर्किन्छौ
र चोख्याउछौ आफुलाइ ?

धर्ती जसरी सहेर बसिरहदा
न बाटो हिड्न दिन्छौ
न पानी छुन दिन्छौ
के भेट्छौ आफू र उस्को
अस्तित्वमा
तिमी पानी चल्ने
उ पानी नचल्ने भयो ?

सुन ए समाजका ठेकेदारहरु
इतिहास हेर पल्टाएर
जब जब प्रताडितहरु
एकताको सुत्रमा बाधिए र थाले
बिद्रोह
हिटलरहरुको शासन त
ढलेको छ ढल्न त तिम्रो साम्राज्य पनि ढ्ल्ने छ
एक दिन ।

कति पिउँछौ
पानी नचल्नेहरुको
रगत र आँसु ?
एक दिन प्रत्येक धारा आशुको
प्रत्येक थोपा रगतको
हिसाब चुक्ता गर्नुपर्छ ।।


२१ असार २०७७, आइतवार ०२:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु