नेकपा एसका दुई धार : सरकारलाई समर्थन मात्रै कि सम्मानजनक हैसियतमा एकता
नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक आज पनि बस्दैछ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा हिजो बसेको बैठकमा केही नेताले धारणा राख्न बाँकी रहेकाले आज पनि बस्न लागेको हो ।
हिजो बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका थिए । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा नेकपा एमालेसँग एकता गर्ने विषयमा नेताहरूबीच मत भिन्नता देखिएको छ । बैठकको प्रारम्भमा अध्यक्ष नेपालले पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाका बारे धारणा राखेका थिए ।
उनले पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेण्डाका साथ देशव्यापी अभियान अगााडि बढाउन नेताहरूलाई निर्देशन दिए । अध्यक्ष नेपालले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने विषयमा गम्भीरतापूर्वक विचार राख्न नेतालाई आग्रह गरे ।
पार्टीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी पार्टी निर्माणका लागि आवश्यक पर्ने वैचारिक र राजनीतिक हतियारलाई चुस्त, दुरुस्त पार्नुपर्नेमा जोड दिए । पार्टी सञ्चालनमा समग्र विषयको वृहत छलफल गर्नुपर्ने उनको भनाइ थियो ।
महासचिव डा बेदुराम भुसालले सङ्गठन निर्माण र पुनःताजगीका लागि प्रस्ताव पेस गरे । पार्टीले पछिल्लो समय जनवर्गीय सङ्गठनका साथै प्रवासमा रहेका पार्टी निकट सङ्गठन, शुभेच्छुकसँग सुझाव लिएको छ ।
केहीले निर्वाचनमा जनताले प्रदान गरेको अभिमतबाट आफ्नो पार्टी प्रतिपक्षमा बसेर ढिलासुस्ती, भ्रष्टाचार, सामाजिक विकृतिका विरुद्ध क्रियाशील हुनुपर्ने, निर्वाचनमा पार्टीले उल्लेख्यता सफलता कायम गर्ने अपेक्षा गरिएकामा कम उपलब्धि हासिल भएकाले केहीले सरकारमा सहभागी भएर पनि जनताको सेवा गर्दै सङ्गठन सुदृढीकरणमा लाग्नुपर्नेजस्ता सुझाव दिएका छन् ।
बैठकमा केही नेताहरूले सरकारलाई समर्थन गरे पनि तत्काल एमालेसँग एकता गर्न नहुने बताएका थिए । केहीले भने सम्मानजनक हैसियतमा एकता हुनुपर्ने धारणा राखेका थिए । एमालेका केही नेताहरूले भने पार्टी फुटाएका विषयमा माफी नमानेसँग एकीकृत समाजवादीसँग एकताको कुनै सम्भावना नरहेको बताउँदै आएका छन् ।
१७ पुस २०७९, आइतवार ०७:०३ बजे प्रकाशित































