मेसीबिहिन पीएसजीको जितमा एमबाप्पेको निर्णायक गोल, नेमारलाई रातो कार्ड
पेरिस। केलियन एमबाप्पेको निर्णायक गोलमा पेरिस सेन्ट जर्मन-पीएसजीले बुधवार राती फ्रेन्च लिग फुटबलमा स्ट्रासबर्गमाथि २९१ गोलको कठिन जित हात पारेको छ।
घरेलु मैदानमा पीएसजीका एमबाप्पेले इन्जुरीको अन्तिम समयमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाएका हुन्।
त्यसअघि मार्क्विन्होसले १४ औँ मिनेटमा पीएसजीलाई अग्रता दिलाएका थिए। नेमारको पासमा गोल गरेका मार्क्विन्होसबाट पछि आत्मघाती गोल भएपछि स्ट्रासबर्ग बराबरीमा फर्किएको थियो। ५१ औँ मिनेटमा मार्क्विन्होसबाट आत्मघाती गोल भएको थियो।
६२ औँ मिनेटमा नेमारले दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो।
कतार विश्वकपपछि पीएसजीले पहिलो खेल खेलेको हो। यो खेलमा विश्वकप विजेता लियोनल मेसी सहभागी थिएनन्। उनी नयाँ वर्षमा मात्र पीएसजीमा सहभागी हुने बताइएको छ।
१६ खेलबाट ४४ अंक भएको पीएसजी तालिकामा दोस्रो स्थानको लेन्सभन्दा ८ अंकले अगाडि छ।
१४ पुस २०७९, बिहीवार ०८:३९ बजे प्रकाशित































