घोडाघोडीमा अतिक्रमित संरचना हटाउन सुरु
कैलालीको घोडाघोडी नगरपालिकाले बुधबारदेखि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको छ । नगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन पटक पटक सूचना गरेपनि नहटाएपछि आफै हटाउन सुरु गरेको हो ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत वडा नम्बर २ को सुक्तिकाँडादेखि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको नगर प्रमुख खडकबहादुर रावतले बताए ।
३५ दिने पहिलो सूचना त्यसपछि १५ दिने दोस्रो सूचना जारी गर्दासमेत हटाउन अटेर गरेपछि नगरपालिकाले एकदिन अगाडि आफै डोजर लगाउने जानकारी गराउँदै बुधबारबाट डोजर प्रयोग गरी संरचना हटाउन थालिएको नगरप्रमुख रावतले जानकारी दिए । सवारी दुर्घटना न्यूनीकरण कम गर्न तथा स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउन सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउन सुरु गरिएको उनको भनाइ छ ।
सडक क्षेत्रमा पर्ने सबै प्रकारका अतिक्रमण हटाई सहयोग गरिदिन हुन उनले सबैमा आग्रह गरे । नगरपालिकाभित्र पर्ने पूर्व–पश्चिम राजमार्गको दुवै साइड २५ मिटरभित्रका संरचना हटाइनेछ । बुधबार बिहानै सुरक्षाकर्मी, नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्षलगायतको समूह अतिक्रमण हटाउने कार्यमा खटेको छ ।
घोडाघोडी नगरपालिका क्षेत्र रहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत वडा नम्बर २ को सुक्तिकाँडादेखि वडा १० को आमखैयासम्मको सडक अतिक्रमण संरचना हटाइने जनाइएको छ । २०७४ मा समेत यस्तै सडक अतिक्रमण संरचना हटाउन सुरु गरे पनि सफल नभएको नगरपालिका यतिखेर भने जसरी पनि हटाउने पक्षमा रहेको छ ।
१३ पुस २०७९, बुधवार १६:२३ बजे प्रकाशित































