सुदूरपश्चिममा दलको कार्यालयका लागि कोठा अभाव, विषयगत समितिको कार्यालयमा गुजरा !
कैलाली । सुदूरपश्चिम प्रदेश सभा सचिवालय प्रदेश सभामा दलको कार्यालय व्यवस्थामा जुटेको छ ।
आगामी १५ गते नव निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी भइरहँदा पनि अझै दलहरूलाई कहाँ कार्यालय दिने भन्ने समस्या छ ।
यस अघि दलको कार्यालय रहेका भवनहरू धनगढी उपमहानगरले सुरु गरेका सडक विस्तारमा क्रममा भत्काउनु परेपछि नयाँ स्थानमा दलको कार्यालय राख्नु पर्ने बाध्यता आइलागेको हो । अहिले कोठा अभावका कारण यस अघि विषयगत समितिका कक्षहरूलाई दलको कार्यालय बनाउने गरी तयारी प्रदेश सभा सचिवालयले गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेस १९ सांसद सहित सबै भन्दा ठुलो दल बनेको छ । त्यस्तै माओवादी केन्द्र ११ सांसद सहित दोस्रो, माओवादी १० सांसद सहित तेस्रो, नागरिक उन्मुक्ति ७ सांसद सहित चौथौँ र नेकपा एकीकृत समाजवादी ४ सांसद सहित पाँचौँ शक्तिका रूपमा प्रदेश सभामा रहेका छन् । यहाँ राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।
यस अघि एमाले, कांग्रेस माओवादी, नेकपा एकीकृत समाजवादी लोसपा र राजपाका लागि प्रदेश सभामा छुट्टा छुट्दै दलका कार्यालय थिए । अहिले लोसपा र राजपा आउट हुँदा नागरिक उन्मुक्ति र राप्रपा इन भएका छन् ।
एउटा मात्रै सांसद भएको राप्रपाका लागि दलको कार्यालय दिने कि नदिने भन्नेमा प्रदेश सभा सचिवालय अनिर्णीत बनेको छ। त्यस बाहेकका पाँच दलका लागि केही पुरानै दलका कार्यालय र केही विषयगत समितिका कार्यालयमा व्यवस्थापन गर्न लागिएको प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले जानकारी दिए ।
विषयगत समिति तयार हुन केही समय लाग्ने भएको हुँदा त्यतिन्जेल त्यही कोठाबाट केही दलले कार्यालय सञ्चालन गर्ने छन् त्यसपछि छुट्टै कार्यालय तयार गरिने सचिव बोगटीले जनाए ।
११ पुस २०७९, सोमवार १४:५२ बजे प्रकाशित































