बालुवाटारबाट बाहिरिए प्रचण्ड
बालुवाटारमा जारी सत्ता गठबन्धनकाे बैठकबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएका छन् । सत्ता गठबन्धनकाे बैठकमा नयाँ सरकारकाे भागवण्डाबारे कुरा मिल्न नसकेका बेला प्रचण्ड बाहिरिएका हुन् ।
प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमध्ये एक पद रोजेर लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका थिए ।
बाँकी रहेका दुई पदमा माओवादी र नेकपा एसले भागवण्डा गर्ने नयाँ प्रस्ताव देउवासमक्ष प्रस्तुत गरिएको हो ।
माओवादी र समाजवादीले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीनवटै पार्टीले बाँडेर लिने र पहिलो रोजाइ कांग्रेसकै रहने प्रस्ताव गरेका हुन् ।
तर, कांग्रेस सभापति देउवाले यो प्रस्ताव नकारेका छन् । उनले पहिलो चरणमा प्रधानमन्त्री कांग्रेसकै हुनुपर्ने र राष्ट्रपति पनि छाड्न नसकिने बताएका छन् । देउवाकाे अडानपछि प्रचण्ड बालुवाटारबाट बाहिरिए ।
१० पुस २०७९, आइतवार १३:२४ बजे प्रकाशित






























