सुदूरपश्चिममा १८ गते संसद् सुरु गर्ने तयारी,१५ गते शपथ गराउने छलफल
कैलाली । सुदूरपश्चिम प्रदेशमा आगामी १५ गते नव निर्वाचित प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने विषयमा छलफल भएको छ । प्रदेश प्रमुख देव राज जोशी र प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटी बिच १५ गते पद तथा गोपनीयताको शपथ ग्रहण गराउने र १८ गते पहिलो अधिवेशन सुरु गर्ने बिषयमा छलफल भएको हो ।
सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख जोशीले ज्येष्ठ सदस्यका हैसियतमा मानबहादुर रावललाई शपथ गराउने छन् । नेपाली काँग्रेसका रावल अछाम २(२) बाट निर्वाचित भएका थिए । १५ गते प्रदेश प्रमुख जोशीले सबै भन्दा पहिले रावललाई शपथ गराउने र त्यसपछि रावलले अन्य ५२ जना प्रदेश सभा सदस्यहरुलाई शपथ गराउने छन् ।
अहिले सबैजसो प्रदेश सभा सदस्य काठमाडौँ रहेको हुँदा शपथ ग्रहणको मिति परक पर्न सक्ने समेत प्रदेश प्रमुख कार्यालयले जनाएको छ। तर, अहिले सम्म १५ गते शपथ गराएर १८ गते संसद् सुरु गर्ने विषयमा करिब सहमति भइसकेको प्रदेश प्रमुख कार्यालयको स्रोतले जनाएको छ ।
यता प्रदेश सचिव बोगटीले पनि यस बिषयमा छलफल भएको जनाए ।
७ पुस २०७९, बिहीवार ०८:०८ बजे प्रकाशित































