सुदूरपश्चिममा कसले पाउला मुख्यमन्त्री?
सुदूरपश्चिम प्रदेशसभामा सत्तारुढ गठबन्धनले सरकार गठन गर्ने सुविधाजनक बहुमत पाएको छ। अहिलेकै गठबन्धनले सरकार बनाउन चाहेमा प्रदेशमा सहजै सरकार बनाउन सक्ने अवस्था छ।
सरकारको नेतृत्व आफूले पाउनुपर्ने भन्दै नेताहरुले केन्द्रमा दबाब दिन थालेका छन्।
सुदूरपश्चिममा नेपाली कांग्रेस १९ सांसदसहित पहिलो दल बनेको छ। नेकपा माओवादी केन्द्रले ११ र नेकपा एकीकृत समाजवादीका ४ सांसद प्रदेशसभामा छन्।
कूल ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। सत्तारुढ गठबन्धनसँग ३४ सांसद छन्।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने दाउमा छ। विगतमा माओवादी केन्द्रले पाँच वर्ष पूर्ण कार्यकाल प्रदेश सरकारको नेतृत्व गरेकाले अब आफूले नेतृत्व गर्न पाउनुपर्ने कांग्रेसको अडान छ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेशसमेत रहेकाले कांग्रेस नेताहरुले प्रदेशको नेतृत्व पाउनुपर्ने दबाब देउवालाई दिइरहेका छन्।
‘अघिल्लोपटक हाम्रोसमेत समर्थनमा पाँच वर्ष सरकार माओवादीले चलायो, अब नेतृत्व कांग्रेसले पाउनुपर्छ,’ मुख्यमन्त्रीका दाबेदार बहादुरसिंह थापाले भने, ‘प्रदेशसभामा कांग्रेस ठूलो दल पनि छ।’
गठबन्धनमा आधा-आधा कार्यकाल भागबन्डा हुँदा पहिलो कार्यकाल आफूले पाउनुपर्नेमा कांग्रेस नेताहरुले जोड दिइरहेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कसले पाउने भन्ने कुरा शीर्ष नेतृत्वको आपसी समझदारीपछि टुंगिने हुनाले नेताहरु दबाबका लागि शक्ति केन्द्र धाइरहेका छन्।
सुदूरपश्चिम प्रदेशसभाको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र पनि मुख्यमन्त्री पद नछाड्ने अडानमा छ। डडेल्धुरामा मत माग्ने क्रममा कांग्रेस सभापति देउवाले माओवादीका खगराज भट्टलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरेका थिए।
माओवादी केन्द्रले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सशक्त दाबी गरेको छ। विगतको समझदारीअनुसार नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने भट्ट बताउँछन्।
‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीज्यूसँग भएको समझदारीअनुसार गठबन्धन बनाएर चुनावमा होमियौं, शीर्ष तहका नेताहरु आफ्नो अडानमा कायम हुनुहुन्छ,’ उनी भन्छन्, ‘सहमतिअनुसार नै अगाडि बढ्नेमा ढुक्क छु।’
भट्टले ०६४, ०७० र ०७४ को चुनावमा देउवासँग प्रतिस्पर्धा गरेका थिए। यसपटक गठबन्धनका कारण देउवालाई प्रतिनिधिसभा क्षेत्र छाडेर मुख्यमन्त्री बन्नेगरी उनी प्रदेशमा झरेका थिए।
प्रदेशसभाको पुछारको शक्ति गठबन्धनकै अर्को घटक नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पदमा दाबी गरेको छ। सत्तारुढ गठबन्धनको भागबन्डामा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व प्राथमिकतामा राख्नुपर्ने नेताहरु बताउँछन्।
‘विगतमा ठूलो दल बन्दा पनि हामीले नेतृत्व गर्न पाएनौं, यसपटक नेतृत्व पाउनुपर्छ,’ समाजवादीका नवनिर्वाचित सांसदसमेत रहेका आर्थिक मामिलामन्त्री प्रकाश रावलले भने, ‘हामीले गठबन्धनको भागबन्डामा अन्य प्रदेशभन्दा सुदूरपश्चिममा नेतृत्व पाउनुपर्छ भनेर प्राथमिकतामा राखेका छौं।’
४ पुस २०७९, सोमवार ०८:४६ बजे प्रकाशित































