धनगढी बजार क्षेत्रको सडक निर्माणका लागि प्रदेश सरकारले ६० करोड दिने

धनगढीको मुख्य सडक निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले ६० करोड दिने भएको छ । कैलाली पुलदेखि क्याम्पस चोकसम्मको दुई किलोमिटर तीन सय मिटर सडक निर्माण गर्न प्रदेशका आर्थिक तथा योजना मन्त्रालयले ६० करोडको स्रोत सुनिश्चित गरिसकेको छ ।
धनगढी उपमहानगरपालिकाले डीपीआर बनाउँदै उक्त सडक निर्माणका लागि आवश्यक पर्ने बजेट पूर्वाधार विकास कार्यालय धनगढी हुँदै भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत प्रदेश सरकारसँग बजेट माग गरेको थियो । सोही मागअनुसार आर्थिक मामिला मन्त्रालयको ९ मंसिरको मन्त्री स्तरीय निर्णयबाट बजेटको स्रोत सुनिश्चित गरिएको सूचना अधिकारी युवराज बस्नेतले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश सरकारले बजेटको स्रोत सुनिश्चित गरिदिएपछि धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल कैलाली पुलदेखि क्याम्पस चोकसम्मको २३ सय मिटर सडक निर्माण हुनेमा आशावादी देखिएका छन् ।
विगतमा जग्गाधनीको अवरोधका कारण हुलाकी सडक आयोजनाले त्यसै छाडेको सडकलाई केन्द्रदेखि दायाँबायाँ १५÷१५ मिटरको बनाउन हमालकै नेतृत्वमा डोजरको प्रयोग गरेर संरचना हटाउने काम जारी छ । सोही बेला प्रदेश सरकारले उपमहानगरको माग बमोजिम बजेट विनियोजन गर्ने भएपछि उनी सडक निर्माण हुनेमा ढुक्क देखिएका हुन् ।
उपमहानगरपालिकाले गत कात्तिक १६ गतेदेखि सडक क्षेत्रमा पर्ने संरचना भत्काउने काम गरिरहेको छ ।

१९ मंसिर २०७९, सोमवार १६:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु