बैताडीमा ११३ वर्षीया महिलाले गरिन् मतदान
बैतडीको पाटन नगरपालिका वडा न.४ ठाँड निवासी मानमती देवी भट्टले यसपालि १ सय १३ बर्षको उमेरमा मतदान गरेकी छन् । उनले यसअघिका अधिकांश चुनावमा मतदान गरेकी छन् । २०१५ सालमा चुनाव हुँदा मानमती ४९ वर्षकी थिइन् । उनले त्यसयताका सबै चुनावमा भोट हालेको बताइन् । जेठो मतदाताका कारण उनी पछिल्लो समय हरेक चुनावका बेला चर्चामा आउने पात्र हुन् । उनले यसपालि छोरा नरेन्द्रको सहयोगमा उदयदेव आधारभूत कार्यालयस्थित मतदान स्थलमा मतदान गरेकी हुन् ।
१ सय १३ वर्षको उमेरमा मतदान गरेकी मानमती देवीले अझै विकास निर्माण भएको हेर्ने चाहना राखेकी छन् । उनले भनिन्, ‘म किशोरावस्थामा भारतको लोहाघाटबाट मकै, चामल बोकेर खाएको व्यक्ति हुँ । अहिले सबै ठाउँमा सडक पुगिसक्यो । हामी सल्लाको दियो बालेरै आधा जीवन कटाएका व्यक्ति हौँ । अहिले घरघरमा बिजुलीबत्ती पुगेको छ । ओखल-जातो गर्ने चलन हराएको छ । पहिलाको भन्दा निकै सुविधा भएकाले मैले हालेको भोटको सदुपयोग हुन्छ भन्ने लागेको छ ।’
मानमतिका ४ छोरा २ छोरी, १ दर्जन बढी नाति-नातिना तथा पनाति-पनातिना छन् ।
४ मंसिर २०७९, आइतवार १९:२९ बजे प्रकाशित































