न्यूकासलसँग घरेलु मैदानमै हार्यो टोटनहम
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम न्यूकासल युनाइटेडसँग पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा टोटनहम न्यूकासलसँग २-१ गोल अन्तरले पराजित भएको हो । खेलको ३१ औँ मिनेटमा न्यूकासलका कलुम विल्सनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ९ मिनेटपछि खेलको ४० औँ मिनेटमा मिगुइल अल्मिरोनले गोल गर्दै न्यूकासलको अग्रता दोब्बर पारेका थिए ।
न्यूकासलले पहिलो हाफमा २-० को अग्रता लिएको थियो । खेलको ५४औँ मिनेटमा टोटनहमका लागि ह्यारी केनले गोल गर्दै अग्रता २-१ मा झारे । तर, बाँकी समयमा गोल गर्न नसक्दा खेल न्यूकासलले २(१ ले जित्यो ।
जितसँगै न्यूकासल १२ खेलबाट २१ अंक जोडेर लिगको चौथो स्थानमा उक्लिएको छ । हारसँगै टोटनहमले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग अंक बराबरी मौका गुमाएको छ । टोटनहमको १२ खेलबाट २३ अंक छ र लिगको तेस्रो स्थानमा छ ।
७ कात्तिक २०७९, सोमवार ११:१० बजे प्रकाशित






























