स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै पुष्करनाथ ओझाले भने– धनगढीबाट विद्रोह सुरु भयो
नेपाली कांग्रेसले कारबाही गरेका नेता पुष्करनाथ ओझाले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । धनगढीमा शुक्रवार पत्रकार सम्मेलनमा ओझाले क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार हुने घोषणा गरेका हुन् ।
ओझाले कांग्रेसले कारबाही गर्दा कुनै दुःख नलागेको बताएका छन् । आफू सर्वदलीय हुन खोजेको भन्दै उनले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेको बताएका हुन् । उनले भने, ‘म सर्वदलीय हुन चाहन्छु । मैले उठाएको प्रश्न सर्वदलीय हो । यो एक पार्टीको मात्र समस्या होइन । सबै दलहरूको हो ।’ कांग्रेसबाट जितेर राज्यमन्त्रीसमेत भइसकेका ओझाले प्रवृत्ति विरुद्धको संर्घषको नेतृत्व आफूले गर्ने पनि बताए ।
उनले भने, ‘कमजोर हुँदा सबैको सहयोग चाहिने, राजनीतिक शक्तिमा पुगेपछि परिवार मात्र चाहिने रु’ धनगढीबाट विद्रोहको सुरुवात भएको बताएका ओझाले ठाउँ सानो भए पनि आयम ठूलो हुने दाबी गरे । ‘धनगढीका जनता मुठीभर भन्दै थिए । छन्, तर क्षमतावान छन्,’ उनले भने, ‘म एक पार्टीको मात्र विद्रोही हैन, कम्युनिष्टमा पनि छन्। कम्युनिष्टमा विद्रोही छन्, तर विरोध गर्न सक्दैनन् । सबैको नेतृत्व म गर्छु, कोही तयार छैन, म नलडे कोही लड्दैन । कुनै पनि खालको सम्झौता हुँदैन ।’
उनले नेपाली कांग्रेसले भिलेन बनाएको बताएका छन् । ‘चारपटक चुनाव लड्ने इच्छा गरेँ, केही पटक लड्दैन भनेँ, दबाब दिँदा पनि लड्दैन भनेँ । अहिलेको जस्तो रहर कहिल्यै भएन । अहिले मसँग केही छैन । जुन दलमा सम्पूर्ण जीवन लगाएँ, उसको नजरमा म भिलेन छु। त्यसैले त मलाई कारबाही गरेको होला रु’
२०७४ सालको प्रतिनिधिसभा चुनावमा आकांक्षी रहेका ओझा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि रुष्ट बनेका थिए । आरजु नेकपा एमालेका नारदमुनी रानासँग पराजित भएपछि चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले उनलाई कारबाही गरेको थियो ।
२१ असोज २०७९, शुक्रवार १८:१९ बजे प्रकाशित













