कञ्चनपुर पुगेर ओलीले सुनाए १५० सिट जित्ने हिसाब
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आँटोढिँडो जे भए पनि आफ्नै घरमा खानुपर्ने बताएका छन् । बुधबार कञ्चनपुर पुगेर उनले बिभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा स्वागत गर्दै यस्तो बताएका हुन् । उनले भुलेर केही समयका लागि अन्य पार्टीमा प्रवेश गरे पनि समयमै आफ्नै पार्टीमा नेताहरू फर्किएको उनले बताएका छन् ।
नेता तथा कार्यलाई स्वागतसँगै जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनसँग जनता नभएको टिप्पणी गरे । ‘देशमा जनजागरण आएको छ, माथि माथिका नेता गठबन्धनमा छन्, जनता एमालेमा छन्,’ उनले भने, ‘पार्टीका कार्यकर्ताहरू, देश बनाउनुपर्छ भन्नेहरू एमालेको पक्षमा छन्, एमालेले जिते मात्रै देश बन्छ ।’
आगामी चुनावमा गठबन्धनले जिते देशले हार्ने उनको टिप्पणी थियो। लोकतान्त्रिक आचरण अभ्यास गर्ने पार्टी नेकपा एमाले मात्रै भएको ओलीले दाबी गरेका छन् । ‘सत्ता प्राप्तिका लागि मात्रै गठबन्धन बनेको हो, जनताले धेरै आशा गर्ने ठाउँ छैन’ ओलीले भने, एमालेले जिते देश जित्छ, गठबन्धनले जिते देश हार्छ ।’
गठबन्धन तत्काल टुट्ने अवस्था नरहेको समेत ओलीको बुझाइ थियो । ‘यो गठबन्धन आफैं बनेको होइन अरु कसैले टाउको जोडिदिएको हो’, अध्यक्ष ओलीले भने, ‘उनीहरू आफैं जुटेका पनि होइन आफैं फुट्दैनन् ।’
गठबन्धनको फुर्ती मंसिर ४ सम्म मात्र रहेको ओलीले टिप्पणी गरे । यस्तै ओलीले देश बनाउने जिम्मा एमालेकै काँधमा रहेको बताएका छन् ।
ओलीले प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फ गरेर १५० सिट एमालेले जित्ने दाबीसमेत गरे । ‘आउँदो निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ कम्तीमा १५० सिट जित्छ’, उनले भने, ‘दुनियाँ आश्चर्यचकित हुनेछ ।’
बुधबार भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीसहित विभिन्न पार्टीका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री तारा लामा तामाङ, समाजवादीका प्रदेश अध्यक्ष बिक्रम शाही, कञ्चनपुर वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्दलगायतका नेताहरू बुधबार एमाले प्रवेश गरेका हुन् । बुधवार कञ्चनपुर पुगेका नेकपा एमालेका पार्टी अध्यक्ष ओलीले उनीहरूलाई स्वागत गरेका हुन् ।
यस्तै माओवादी केन्द्रबाट शंकरदत्त जोशी, मोहन गिरिलगायतका नेताहरू एमाले प्रवेश गरेका हुन ।
१५ भदौ २०७९, बुधवार १९:३२ बजे प्रकाशित





























