धनगढी मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले भने -उम्मेदवारी फिर्ता लिएको छैन
धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले आफूले उम्मेदवारी फिर्ता नलिएको प्रष्ट पारेका छन् । आफ्ना विरोधीहरूले उम्मेदवारी फिर्ता लियो भनेर कुप्रचार गरेको उनले बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले मेयर पदमा आफ्नो उम्मेदवारी कायमै रहेको र कोही कसैलाई समर्थन नगरेको जानकारी गराएका छन् । ‘म धनगढी उपमहानगरपालिकाको मेयर पदको स्वतन्त्र उम्मेदवार गोपाल हमालले मेयर पदको लागि कोही कसैलाई समर्थन नगरेको जानकारी गराउँछुु, हमालले फेसबुकमा लेखेका छन् ।
अहिले केही व्यक्तिहरूले तीन जना स्वतन्त्रमध्येको एक जनाले दिएको समर्थनलाई स्वतन्त्रहरूले दिएको समर्थन भनेर दुष्प्रचार गर्न खोजेको आरोप उनले लगाएका छन् । ‘त्यसैले यस्ता हल्लाको पछाडि नलाग्न सम्पूर्णमा अनुरोध छु, हमालले भनेका छन् ।
धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र रूपमा उमेदवारी दर्ता गराएका मदनकृष्ण भट्टले सत्ता गठबन्धनका उमेदवार नृपबहादुर वडलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा सोमबार गरेका थिए । भट्टको निर्णयलाई आफूसँग जोडेर दुष्प्रचार गरिएको हमालको भनाइ छ ।
२७ वैशाख २०७९, मंगलवार १२:५४ बजे प्रकाशित































