गठबन्धनभित्र धोखा स्वीकार्य छैन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेसले गठबन्धनभित्र धोखा दिन थालेको आशंका व्यक्त गरेका छन् ।
कैलारी गाउँपालिकाको हसुलिया बजारमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन दलको सहमति विपरित कांग्रेसले उम्मेदवारी दिन लगाएर धोखा दिएको भनी आशंका व्यक्त गरेका छन् ।
‘नेपाली कांग्रेसको एक जना स्थानीय नेतासँग पनि मेरो कुरा भयो । उनले भने, म र प्रधानमन्त्री शेरबहादुर देउवासँगै आएका छौ ।, उहाँसँग कुरा गरेर कांग्रेसले जसरी उम्मेदवारी दिएको छ, खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्दछ । हाम्रा उम्मेदवारलाई विजय गराउन अपिल गर्दछु । हाम्रा लागि बेइमानी र षडयन्त्र स्वीकार्य छैन ।’
प्रचण्डले अझै गठबन्धन क्लियर नभएको बताउँदै आफूहरुले गठबन्धनको मर्म अनुसार उम्मेदवारी दिएका उम्मेदवार र प्राविधिक कारण स्वतन्त्र उम्मेदवारी दिन पुगेका आफ्ना उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन आग्रह गरे ।
प्रतिगमनका विरुद्ध गठबन्धन गरे पनि त्यसको अर्थ सबै झुक्नै पर्छ भन्ने नरहेको समेत बताए ।
२६ वैशाख २०७९, सोमवार ११:५० बजे प्रकाशित






























