कैलालीको गौरीगंगामा तीब्र प्रतिस्पर्धा

कैलालीको गौरीगंगा नगरपालिकामा यसपटकको चुनाव रोचक हुने देखिएको छ । अघिल्लो चुनावमा मेयरमा एमालेका उम्मेदवारले जितेको पालिकामा यसपटक गठबन्धनका उम्मेदवारले चुनौति दिइरहेका छन् । गौरीगंगामा २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार देविदत्त कँडेललाई ६१ मतले पराजित गर्दै नेकपा एमालेका भीमबहादुर देउवा मेयरमा विजयी भएका थिए । कँडेल यसपटक पनि मेयरका उम्मेदवार छन् । माओवादी केन्द्रका नेता कँडेललाई २०७४ सालको निर्वाचनमा तेस्रो भएको दल नेपाली काँग्रेसको पनि समर्थन छ ।

०७४ सालको निर्वाचनको मतपरिणामको विश्लेषण गर्दा कँडेल एमालेका उम्मेदवार पदमसिँह सिंगालभन्दा बलिया देखिएका छन् । गठबन्धनबाट नगर प्रमुखका उम्मेदवार कँडेल सजिलै चुनाव जित्नेमा आशावादी छन् । गठबन्धका तर्फबाट प्रमुखका उम्मेदवार कँडेलले भष्ट्रचार, शुसासनरहित र स्थानीय सरकार जनताको सरकार हो भने अनुभूति दिलाउने गरेर काम गर्ने बताए । ‘विगतमा गरेका काम विकास निर्माणका कामहरु जनतालाई चित बुझेको छैनन् त्यसैले जनताले यस पटक गठबन्धका साझा उम्मेदवारलाई जिताउँछन्,’ उनले भने ।

पाँच वर्ष जनताको काम गरेकाले पुनः नगर प्रमुखमा आफ्नो उम्मेदवार विजयी हुने दाबी नेकपा एमालेको छ । काँग्रेसका नगरस्तरीय नेताहरु तथा माओवादी केन्द्र बाहेकका मतदाताको सहयोग पाउने अपेक्षा पनि एमालेको छ । मतदाताको संख्या पनि वृद्धि भएको र काँग्रेस, समाजवादी पार्टीका मतहरु पनि नेकपा एमालेका उम्मेदवार सिंगाललाई आउने दाबी एमालेले गरेको छ ।
एमालेबाट प्रमुखका उम्मेदवार सिंगालले भने भष्ट्रचारमुक्त नगर बनाउन आफनो पहिलो प्राथमिकता रहेको बताए । भूमिहिन, आवासविहीन, अतिविपन्न बर्गका र सुकुम्बासी बस्तीका जनताहरुलाई सुधार एकीकृत नमुना बस्ती निर्माण गर्ने आफ्नो योजना रहेको उनको भनाइ छ ।

‘नगरका सबै वडाहरुमा पाँच वर्ष भित्र पानी, पिच र कालोपत्रे सहितको बाटो बनाउँछु,’ उनले भने ।
२०७४ को निर्वाचनमा एमालेका भीम देउवाले पाँच हजार ८९१ मत ल्याँउदै विजयी हुँदा माओवादी केन्द्रका उम्मेदवार कँडेलले पाँच हजार ८३० मत ल्याएका थिए । नेपाली काँग्रेसका उम्मेदवार दिनेशराज जोशीले पाँच हजार ३९२ मत ल्याएका थिए । वैशाख ३० गते ४० हजार १८ मतदाताले गौरीगंगा नगरपालिकामा मतदानको अधिकार पाएका छन् ।

कँडेल र सिंगालसँगै स्वतन्त्रबाट भानबहादुर ठगुन्ना, मौलिक जरोकिलो पार्टीबाट सावित्री गिरी र राप्रपाबाट सुवास कुँवरले गौरीगंगाको नगर प्रमुखमा उम्मेदवारी दिएका छन् ।
गठबन्धनबाट नेपाली काँग्रेसका भोजबहादुर बम, राप्रपाबाट कमला बोहरा, मौलिक जरोकिलो पार्टीबाट चेतराज साउँद र नेकपा एमालेबाट शान्तिदेवी सिंह उपप्रमुखका उम्मेदवार छन् ।


२६ वैशाख २०७९, सोमवार ११:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु