थप १८९ नयाँ संक्रमित भेटिए, कुल संक्रमितको संख्या १४०१ पुग्यो
काठमाडौं जेठ १७ । नेपालमा नयाँ थप भएका संक्रमितको संख्या १८९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यीमध्ये १८५ पुरुष र ४ जना महिला रहेका छन् ।
यो एकैदिन संक्रमित हुने अहिलेसम्मको सबैभन्दा ठूलो संख्या हो । शुक्रवार एकैदिन १७० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो । त्यसैगरी, बिहीवार १५६ जना र बुधवार ११४ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा दिएको जानकारीका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या १४०१ पुगेको छ । यीमध्ये १२८८ जना पुरुष र ११३ जना महिला रहेका छन् ।
शनिबारसम्म कोरोना संक्रमणमुक्त भएर १३ जना डिस्चार्ज भएका छन् । तीमध्ये टेकुबाट बुढानीलकण्ठका ३८ वर्षीय पुरुष, टोखा-७ अर्का पुरुष डिस्चार्ज भएका छन् ।
त्यस्तै सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालबाट ११ जना डिस्चार्ज भएका छन् । उनीहरु ७ देखि ४२ वर्ष उमेरका रहेका र ६ जना पुरुष र ५ जना महिला रहेका छन् ।
हालसम्मको डिस्चार्ज हुनेको संख्या २१९ पुगेको र तीमध्ये १७२ जना पुरुष र ४७ जना महिला रहेका छन् । शनिबारसम्म ६६ हजार ७२९ पिसिआर परीक्षण र १ लाख ७ हजार ५५ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
नेपालभर १ लाख १० हजार ७८ जना क्वारेन्टाइनमा बसिरहेका र १ हजार १ सय ७६ जना क्वारेन्टाइनमा बसिरहेको देवकोटाले जानकारी दिए । शनिबारसम्म नेपालमा कोरोना संक्रमण भेटिएको जिल्लाको संख्या ५३ पुगेको छ ।
१७ जेठ २०७७, शनिवार ११:२८ बजे प्रकाशित































