चितुवाको छालासहित तीन जना पक्राउ
सुर्खेतको वीरेन्द्रनगरबाट चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले उनीहरूलाई बसपार्कस्थित सुनिता होटेल एण्ड लजबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुम्लाको सिंजा गाउँपालिका–८ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर–१२ मा बस्ने ४० वर्षीय दलबहादुर बुढा, वीरेन्द्रनगर–१४ का ४१ वर्षीय भरतबहादुर बुढा र २३ वर्षीय अम्मरबहादुर थापा रहेका छन् ।
उनीहरूलाई शंकास्पद अवस्थामा बसेको फेला पारेको र शरीर तथा होटलको कोठाको खानतलासी गर्दा कोठाको टेबलमा रहेको जेब्रा झोलाभित्र टाउकोदेखी पुच्छरसम्म ९ फिट लम्बाई भएको चितुवाको छाला भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको छ ।
१४ वैशाख २०७९, बुधवार २०:२८ बजे प्रकाशित





























