punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा गठबन्धन गर्दा मुख्य पदमा महिला उपेक्षित

Chaupati
safha napa

कैलालीमा सत्तारुढ गठबन्धन दलहरुले उम्मेदवार उठाउँदा प्रमुख तथा उपप्रमुख पदमा महिलाहरुलाई पाखा लगाएका छन् । एउटै दलबाट उम्मेदवार बनाउँदा मुख्य पदमा कम्तीमा एकजना महिला हुनैपर्ने प्राबधानलाई गठबन्धनबाट उम्मेदवार छनौट गर्दा लत्याइएको हो ।
कैलालीमा तीन दलीय गठबन्धनबाट आधिकारिक उम्मेदवारको नाम सार्वजनिक गर्दै दलहरुले यहाँका १३ वटा पालिकामध्ये एउटा पालिकामा मात्रै महिलालाई मेयरको उम्मेदवार बनाएको जनाएका छन् । यसअघिको निर्वाचनमा १३ वटै स्थानीय तहमा उपप्रमुख महिला रहेकोमा यसपालि गठबन्धनले ६ वटा पालिकामा मात्रै महिलालाई उपप्रमुखमा उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबिच मात्रै कैलालीमा गठबन्धन भएको छ । लम्की चुहा नगरपालिकामा मात्रै कांगे्रसबाट प्रमुखमा सुशिला शाही उम्मेदवार रहेकी छन् ।
गठबन्धनले माओवादीबाट उपप्रमुखमा शान्ति अधिकारी र जानकी सिंह तथा एकीकृत समाजवादीबाट रत्ना कडायत र नेपाली काँग्रेसबाट धना थापा, भगवतीकुमारी चौधरी र गुलियादेवी चौधरीलाई उम्मेदवार बनाएको छ ।
बुधवार एक विज्ञप्तिमार्फत गठबन्धनले आधिकारिक उम्मेदवारको नाम सार्वजनिक गर्दै धनगढी उपमहानगरपालिकामा मेयर पद काँग्रेसलाई र उपमेयर माओवादीलाई वण्डा गरेको जनाएको छ ।
तीन दलीय गठबन्धनबाट धनगढीको मेयरमा कांग्रेसका नृपबहादुर वड पुनः दोहोरिएका छन् । अघिल्लो चुनावमा माओवादीबाट उपमेयरमा लडेर पराजय ब्यहोरेकी शान्ति अधिकारीले यसपल्ट गठबन्धनबाट पुनः उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

कैलालीको गोदावरी नगरपालिकामा गठबन्धनबाट मेयरमा काँग्रेसका वीरेन्द्र भट्ट र उपमेयरमा एकीकृत समाजवादीकी रत्ना कडायतले उम्मेदवारी दर्ता गराएका छन् । भट्ट यसअघिको निर्वाचनमा एमालेका उम्मेदवार हरिसिंह साउँदसँग पराजित भएका थिए भने कडायतले एमालेबाट उपमेयरमा जित हासिल गरेकी थिइन् ।

गठबन्धनले घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादीका तर्फबाट खडक रावतलाई नगर प्रमुखको उम्मेदवार बनाइएको छ भने नेपाली काँग्रेसबाट गुलिया देवी चौधरीलाई उपमेयरको उम्मेदवार बनाइएको छ ।
नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टका अनुसार लम्की चुहा नगरपालिकामा काँग्रेसबाट सुशीला शाहीलाई गठबन्धनले उम्मेदवार बनाएको छ भने माओवादीकी जानकी सिंहले उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छन् ।
गौरीगंगा नगरपालिकामा माओवादी केन्द्रले मेयर र काँग्रेसले उपमेयर पद पाएको छ । गठबन्धनले यहाँ माओवादी केन्द्रका तर्फबाट देवदत्त कँडेललाई मेयर र भोजबहादुर बमलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

टिकापुर नगरपालिकामा कांग्रेसबाट नवराज रावललाई मेयर र खडक शाहीलाई उपमेयरको उम्मेदवार बनाइएको छ । भजनी नगरपालिकामा माओवादीका तर्फबाट शेरबहादुर चौधरीलाई मेयर र कांग्रेसका तर्फबाट गोकेन्द्र भण्डारीलाई उपमेयरको उम्मेदवार बनाइएको हो ।
चुरे गाउँपालिकाको मेयरमा समाजवादीबाट लोकबहादुर सारुमगर अध्यक्ष र धना थापा काँग्रेसबाट उपाध्यक्षको उम्मेदवार बनाइएको छ । जानकी गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट परशुराम महतो कठरियालाई अध्यक्ष र जयप्रकाश दहितलाई माओवादीका तर्फबाट उपाध्यक्षको आधिकारिक उम्मेदवार बनाइएका हो ।

जोशीपुरमा काँग्रेसका तर्फबाट बशराम कठरियालाई अध्यक्षको उम्मेदवार बनाउँदा माओवादी केन्द्रबाट उपाध्यक्षमा दीर्घ विनाडीलाई आधिकारिक उम्मेदवार बनाइएको छ ।
यस्तै कैलारी गाउँपालिकाको अध्यक्ष पदको लागि माओवादीबाट लाजुराम चौधरी र उपाध्यक्षका लागि कांगे्रबाट भगवतीकुमारी चौधरीलाई आधिकारिक उम्मेदवार बनाइएको हो ।
मोहन्याल गाउँपालिकाको अध्यक्ष पदका लागि माओवादी केन्द्रबाट देवीदत्त उपाध्याय र काँग्रेसबाट कमल बहादुर साउदलाई अध्यक्ष तथा उपाध्यक्षको आधिकारिक उम्मेदवार बनाइएको हो ।

वर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदका लागि काँग्रेसबाट शेर बहादुर कठरिया र उपाध्यक्षका लागि गणेश गिरीलाई माओवादीका तर्फबाट आधिकारिक उम्मेदवार बनाएको हो । तीन दलीय गठबन्धनले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । यस्तै गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन पनि आग्रह गरेको छ ।

 


१४ वैशाख २०७९, बुधवार १६:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु