पहाडी क्षेत्रमा वायुको प्रभाव, केही स्थानमा हल्का वर्षाको सम्भावना
नेपालको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ ।
दिउँसो गण्डकी र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमती र मधेसमा आंशिक बदली रहने आकलन महाशाखाको छ । प्रदेश १ का पहाडी भू-भागका केही स्थान र गण्डकी, बागमती र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।
राति प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । बिहीबार बागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार बागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।
१४ वैशाख २०७९, बुधवार ०९:०१ बजे प्रकाशित































